एजेन्सी, साउन २०
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले विष्फोटक ड्रोनको सहायताले गरिएको हमलाबाट आफू बाँच्न सफल भएको बताएका छन । घटनाको समयमा राष्ट्रपति मदुरो काराकास शहरमा एक सैन्य कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए ।
मदुरोको भाषणको लाइभ फुटेजमा उनले अचानक माथि हेरेर डराएको र त्यसपछि दर्जनौं सैनिकहरु दौडिएको देख्न सकिन्छ । भेनेजुएलाका अधिकारीहरुका अनुसार उक्त घटनामा सात सैनिक घाइते भएका छन् भने कैयौंलाई प्रहरीले पक्राउ गरेको छ ।
मदुरोले राष्ट्रिय सेनाको ८१ औं स्थापना दिवसको अवसरमा सम्बोधन गरिरहेको समयमा घटना भएको थियो । सञ्चार मन्त्री जोर्गे रोड्रिग्वेजका अनुशार ‘विष्फोटक पदार्थहरुले भरिएको दुई ड्रोन राष्ट्रपतिले सम्बोधन गरिरहेको पोडियम नजिकै पुगेका थिए ।
त्यसपछि सामाजिक सञ्जालमा भाइरल भएका फोटोहरुमा बडीगार्डहरुले मादुरोलाई बुलेटपु्रफ कवचले सुरक्षा दिएको देख्न सकिन्छ । घटनापछि मदुरोले छिमेकी देश कोलम्बिया र अमेरिकाका केही तत्वहरुले आफ्नो हत्या गर्ने ‘दक्षिणपन्थी षडयन्त्र’ अनुसार ड्रोन आक्रमण गरेको आरोप लगाएका छन ।
उनले घटनाको पछाडि कोलम्बियाली राष्ट्रपति जुवान म्यानुएल सान्तोसको हात रहेको पनि बताएका छन । तर, कोलम्बियाको सरकारले भने घटनामा आफ्नो संलग्नता रहेको भन्ने आरोपको खण्डन गरेको छ ।