८ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मण्डिखाटारबाट उद्घाटन गरेको ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनले अहिलेसम्म कुनै प्रसारण उपकरण नल्याएको भेटिएको छ । प्रसारण अनुमतिपत्र र पूर्वप्रसारण अनुमति समेत नलिई टेलिभिजन उद्घाटन भएपछि सूचना तथा प्रसारण विभागले अध्ययन गर्न एक समिति बनाएको थियो ।
समितिले बुझाएको प्रतिवेदनमा टेलिभिजनको स्टुडियो नै नबनेको र टेलिभिजन खोल्न कुनै तयारी नै नगरेको पाइएको उल्लेख छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले टेलिभिजनले अहिलेसम्म स्टुडियो नै तयार नभएको पाइएको बताए । अनुमतिपत्रविना नै प्रसारण उपकरणहरु ल्याएको र जडान गरेको भेटिएमा जफत हुने कानूनी व्यवस्था छ । तर, भवन मात्रै उद्घाटन गरेर ‘टेलिभिजन’ भनिएको सरकारी निश्कर्ष छ । उनले भने, ‘अनुमतिविना उपकरण ल्याएको र टेलिभिजन चलाएको पाएपछि कारवाही गर्नुपर्ने देखिएन ।’
भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा शुक्रबार प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकसाथ टेलिभिजनको उद्घाटन गरेका थिए ।
नेपालमा विदेशी टेलिभिजन खोल्न कुनै नियम नभएको भन्दै यसविरुद्ध चौतर्फी विरोध भएको थियो ।