कांग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

कांग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

काठमाडौं: काँग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिएका छन् ।

केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । सभापति देउवाको महाधिवेशन केन्द्रित गरी गठन गरिएको सचिवालयले जानकारी दिएअनुसार प्रारम्भिक नतिजामा देउवा पक्षका महाधिवेशन प्रतिनिधि बढी निर्वाचित भएका छन् ।

देउवा सचिवालयले जानकारी दिएअनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा देउवा निकट महाधिवेशन प्रतिनिधि १२ जना निर्वाचित भएका छन् भने ललितपुर जिल्लाको निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमध्ये ७० प्रतिशत देउवा पक्षका छन् । मकवानपुरमा पनि ७० प्रतिशतको हाराहारीमा आफ्नो पक्ष निर्वाचित भएको दाबी गरिरहेको देउवा सचिवालयले झापामा कृष्णप्रसाद सिटौला पक्षसँग नमिल्दा पनि ३० प्रतिशत महाधिवेशन प्रतिनिधि देउवा पक्षको निर्वाचित भएको जनाएको छ ।

पाल्पामा भने अधिकांश महाधिवेशन प्रतिनिधि संस्थापनइतर पक्षका निर्वाचित भएको बताइन्छ । काँग्रेस विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जनाको दरले महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिको नतिजा आउन थालेसँगै केन्द्रीय नेतृत्व दावी गरिरहेका नेताहरू मंसिर २४ देखि २६ गतेसम्म हुने १४ औं महाधिवेशनका लागि टिमसहित नेतृत्व दावी गर्ने रणनीति बनाउन थालेका छन् ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.