विराटनगर,साउन २५
मोरङको पथरीशनिश्चरे १ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय भन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । आरती बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र नोबेल अस्पतालको प्राविधिक सहयोगमा १ दिने शिविर संचालन गरिएको हो ।
शिविरमा ३ सय बिरामीको निःशुल्क स्वास्थ्य परिक्षणसँगै उपचार गरिएको नोबेल अस्पतालका बजार अधिकृत सञ्जय मण्डलले जानकारी दिए । हाडजोर्नी, श्वासप्रश्वास र आँखा रोगका बिरामी शिविरमा बढी मात्रामा आएका थिए । शिविरमा आएका २९ जना बिरामीको अप्रेशन गर्नुपर्ने देखिएकाले नोबेल अस्पतालमा रिफर गरिएको छ ।
शिविरमा आँखा रोग, जनरल मेडिसिन, स्त्री रोग, दन्त रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी, छाला रोग लगायतको निःशुल्क चेकजाँच गरिएको थियो । नोबेल अस्पतालले बिपन्न बिरामीलाई लक्षित गरी पूर्वका बिभिन्न जिल्लामा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।