विराटनगर,साउन २६
मोरङको लेटाङ नगरपालिकाले पहिलोपटक स्वास्थ्य उपचार सेवालाई सहज बनाउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ८ मा रहेको स्वास्थ्य केन्द्रबाट एक्स–रे सेवाको सुरुवात गरेको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख शंकर राईले प्राथमिक स्वास्थ्य केन्द्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । नगरबासीलाई स्वास्थ्यउपचारमा कुनै प्रकारको कमी आउन नदिने बताएका प्रमुख राईले भने, स्वास्थ्य केन्द्रको बिस्तारका लागि आफूले कार्य गर्ने उल्लेख गरे । त्यसैगरी सो वडाका वडाध्यक्ष देबराज राईले अब स्थानीय स्तरमै एमबिबिएस डाक्टरको सेवा उपलब्ध हुने भएकाले जटिल खालका रोगको पनि उपचार गराइने जानकारी दिए ।
करिब २३ हजार जनसंख्या रहेको लेटाङ नगरपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्रसँगै अन्य तीनवटा स्वास्थ्य चौकी क्रमशः वारंगी, जांते र भोगटेनीमा रहेका छन् ।एक्स–रे सेवा सुरु भएको केन्द्रमा भने र्दु चिकित्कससहित १६ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । ९ वटा वडा कार्यालय रहेको लेटाङ नगरपालिकामा केही निजी क्लिनिक रहेकाछन् ।
यद्धपि, सरकारी उपचार केन्द्रमा सहुलियतमा उपचार हुँदा लेटाङवासीलाई राहत हुने स्थानीय प्रशान्त निरौलाले बताए । हाल सो क्षेत्रका बासिन्दालाई उपचारका लागि विराटनगर, धरान पुग्नेपर्ने बाध्यता रहेको छ ।