२२ मंसिर, काठमाडाैँ ।
सर्वोच्च अदालतमा ललितपुरको प्रहरी हिरासतमा मृत्यु भएका दुर्गेश यादवको परिवारले आफूहरुले दिएको जाहेरीमा अनुसन्धान नगर्ने भनी गरेको निर्णय खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
यादवका पिता सुधाराम यादवले मंगलबार उक्त रिट निवेदन दायर गरेका हुन् । उक्त निवेदनमा यही मङ्सिर २३ गते सुनुवाइका लागि पेसी तोकिएको छ । जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका यादवले २०७७ असार २८ गते प्रहरी हिरासतमा आत्महत्या गरेको प्रहरीको अध्ययनले देखाएको थियो । सप्तरीको सिराहा नगरपालिका–७ का यादवले ललितपुर प्रहरी परिसरस्थित शौचालयको झ्यालको रडमा तन्नाको पासो लगाएर आत्महत्या गरेको प्रहरीको अध्ययनमा थियो ।
यादवका परिवारले प्रहरीको प्रतिवेदन झुटो भएको आरोप लगाएको छ । कार्यस्थलमा रहेका प्रहरी र जाहेरी दिने युवतीमाथि छानबिनको माग गर्दै प्रहरीमा परिवारले जाहेरी दिए पनि प्रहरीले जाहेरीमाथि थप अनुसन्धान गरेर मुद्दा चलाउन नसक्ने निर्णय गरेपछि दुर्गेशका पिताले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्। संविधान र कानूनप्रदत्त हक अधिकारको संरक्षणका लागि नेपालको प्रचलित कानूनबमोजिम विपक्षी महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुरको नाउँमा परमादेश जारी गर्न मागसमेत रिट निवेदनमा गरिएको छ ।


