गगनलाई ओलीको व्यङ्ग्य- संशोधन गरेर चिन्तक निस्किन खोज्या छन्, ठीकै छ

२४ मंसिर, काठमाडाैँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता गगन थापालाई जवाफ फर्काएका छन्। थापाले बिहीबार ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ आधारभूतरुपमै सही नभएको बताएका थिए । त्यसप्रति लक्षित गर्दै ओलीले संशोधन गरेर चिन्तक बन्न खोजेको भन्दै व्यङ्ग्य गरेका छन्।

शुक्रबार बागमती प्रदेश संगठन कमिटीले १०औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित टिमलाई बधाई एवं सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली संशोधन गरेर समुन्नत नेपाल, सम्मानित नेपाली’ कि के भनेर आएछ। संशोधन गरेर चिन्तक निस्किन खोजेको जस्तो देखिन्छ, ठीकै छ।’

उनले यसअघि पनि एमालेको ‘आफ्नो गाउँ, आफैं बनाउँ’ लाई पनि अनेक खालका नाममा परिवर्तन गरिएको उल्लेख गरे। गगनकै शैलीमा भने, ‘गाउँपिच्छे सहकारी, घरैपिच्छे भकारी’ पनि भनिएको थियो, भकारी रित्तो थियो कि भरिएको?’

उनले समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य रहेको बताए। उनले थपे, ‘मूल गन्तव्य समृद्ध नेपाल सुखी नेपाली हो। यसभित्र राष्ट्रियता, लोकतन्त्र, समनाता, मानवअधिकार, वारतावरणीय सुरक्षा आदि यहीँभित्र आउँछन्।’

कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले बिहीबार अवधारणापत्र सार्वजनिक गर्दै ओलीले अघि सारेको उक्त अवधारणामा आमनागरिक नरहेको दाबी गरेका थिए। उनले भनेका थिए, ‘एउटा पार्टी र नेताको मुखबाट सुन्नुभएको छ, समृद्ध नेपाल, सुखी नेपाली। त्यो र समुन्नत नेपाल र सम्मानित नेपालीमा आधारभूत फरक छ।’

Scroll to Top