Nepal Times
Nepal Times
3
Shares

केयूका एक हजार ४४९ विद्यार्थी दीक्षित हुँदै

केयूका एक हजार ४४९ विद्यार्थी दीक्षित हुँदै

२५ मंसिर, काठमाडाैँ ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त मङ्सिर २९ गते गरिने भएको छ । विश्वविद्यालयका रजिष्ट्रार सुबोध शर्माका अनुसार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षमा हुने कार्यक्रममा भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा.पङ्कज मित्तलको प्रमुख आतिथ्यता रहने छ ।

यसवर्ष दीक्षित हुने विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका गरी एक हजार ४४९ विद्यार्थीमध्ये मानविकी सङ्कायका २३४, शिक्षाशास्त्र सङ्कायका १०४, इञ्जिनियरिङका २९, कानुन सङ्कायका ४०, व्यवस्थापन सङ्कायका ४१९, मेडिकल साइन्सका ५८१ र साइन्सका ४२ रहेको रजिष्ट्रार शर्माले बताए । त्यस्तै १२ जनालाई पीएचडी र ३० जनालाई एमफिलबाट दीक्षित हुने भएको छ ।

दीक्षित हुनेमध्ये यसवर्ष महिलाको सङ्ख्या बढी रहेको छ । महिला ७४७ अर्थात् ५१ दशमलव ५५ प्रतिशत र पुरुषको सङ्ख्या ७०२ अर्थात् ४८ दशमलव ४५ प्रतिशत रहेको रजिष्ट्रार शर्माले बताए । दीक्षित हुनेमा विदेशी विद्यार्थी बङ्गलादेश, बेनिन, नेदरल्याण्ड, भारत, श्रीलङ्का, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुसका गरी आठ देशका १२३ जना रहेको विश्वविद्यालय जनाएको छ ।

सो सङ्ख्यासहित काठमाडौँ विश्वविद्यालयबाट २७ औँ दीक्षान्त समारोहसम्म आइपुग्दा ३६ हजार ६२४ विद्यार्थी दीक्षित भइसकेको विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बताए । यसैबीच विश्वविद्यालयले यही मङ्सिर २५ गते विश्वविद्यालयको केन्द्रिय परिसरमा विविध कार्यक्रम गरी ३० औँ स्थापना दिवस मनाउने भएको छ ।

सो अवसरमा विश्वविद्यालयले स्थापना कालदेखि नै सेवा गर्नुभएका स्व.रामानन्द मिश्र र स्व.टिकादत्त बराललाई मरणोपरान्त उनीहरूका परिवारलाई केयू–ओरेसन, २०२१ सम्मानपत्र प्रदान गर्ने भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.