Nepal Times
Nepal Times
3
Shares

नेपाली मुलको ठिटो अभिले पाए ‘स्टनिन’ गीतबाट गोल्ड अवार्ड

नेपाली मुलको ठिटो अभिले पाए ‘स्टनिन’ गीतबाट गोल्ड अवार्ड

२७ मंसिर, विराटनगर ।

कर्टिस वाटर्स नामले चिनिने नेपाली मूलका अभि बस्ताकोटी अहिले अमेरिकी संगीत क्षेत्रमा चर्चामा छन् ।

‘स्टनिन’ शीर्षकको उनको गीत अहिले चर्चित बनेको छ । यही गीतबाट उनले अमेरिकाको प्रतिष्ठित अवार्ड पाएका छन् । रेकर्डिङ इन्डस्ट्री एशोसिएसन अफ अमेरिका (आरआईएए)ले विज्ञप्ति मार्फत घोषणा गरेको सन् २०२१ मा गोल्ड तथा प्लाटिनम अवार्ड पाउने कलाकारहरूको सूचीमा बस्ताकोटी पनि परेका हुन् ।

यस वर्ष उक्त अवार्डमा ४३ जना नयाँ कलाकारको नाम घोषणा भएकोमा उनले चर्चित गीत ‘स्टानिन’ का लागि यस वर्षको आरआईएए गोल्ड अवार्ड प्राप्त गरेका हुन् । संस्थाका अध्यक्ष तथा सीईओ मिच ग्ल्याजियरले यो अवार्ड पाउने संगीतकर्मीहरूको भूमिका संगीतको सिर्जनशील तथा व्यावसायिक क्षेत्रमा उल्लेख्य रहेको बताउँदै पुरस्कृत प्रतिभाहरुलाई संगीतको अति विशिष्ट श्रेणी प्रतिभाको समूहमा स्वागत गरेका छन् ।

आरआईएए संगीतको प्रबर्द्धनमा समर्पित व्यावसायिक संस्था हो । संसारका संगीत व्यवसायमा संलग्न र प्रसिद्ध कलाकारहरुसँग कार्यरत महत्वपूर्ण संगीत व्यवसायी संस्था यसका सदस्य छन् । २१ वर्षीय कर्टिस वाटर्सको ‘स्टनिन’ गीत उनको ‘पिटीपार्टी’ एल्बममा समावेश छ ।

बीएमजी नामको अन्तर्राष्ट्रिय रेकर्ड लेबलले बजारमा ल्याएको यो गीत हालसम्म एक अर्ब भन्दा बढी पटक विभिन्न माध्यमबाट प्रवाहित भइसकेको छ । टिकटकमा सर्वाधिक चर्चा बटुलेको ‘स्टनिन’ मे १९ मा सार्वजनिक भएपछि यसले विश्वको चर्चित डिजिटल म्युजिक प्लाटफर्म स्पोटिफाईमा पनि कीर्तिमान कायम गरेको थियो ।

युट्युवमा मात्रै उनको गीत साढे ३ करोड भन्दा बढी पटक हेरिएको छ । ‘स्टनिन’ का लागि कर्टिसले क्यानडा डबल प्लाटिनम, अस्ट्रेलिया प्लाटिनम, ब्राजिल प्लाटिनम, म्याक्सिको गोल्ड, इण्डिया गोल्ड, न्युजिल्याण्ड गोल्ड, अमेरिका गोल्डलगायत प्रमाणपत्र पाइसकेका छन् ।

स्पोटिफाईको ग्लोबल भाइरल लिस्टमा पनि उनी परिसकेका छन् । अमेरिकी चर्चित म्यागेजिन रोलिङस्टोनले पनि उनको फिचर गरेको छ भने टुडे म्यागाजिनले ‘संगस् अफ समर–२०२०’को सूचीमा लेडी गागा लगायतका चर्चित कलाकारका गीतसँगै कर्टिसको ‘स्टनिन’लाई पनि समावेश गरेको छ।

नेपालमा जन्मिएका बस्ताकोटी बुवाआमा र भाइसँग अमेरिकाको नर्थ क्यारोलाइना राज्यको क्यरीमा बस्दै आएका छन् । उनले ६ वर्ष देखि संगीत क्षेत्रमा काम गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.