उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछः प्रधानमन्त्री देउवा

३ पुस ७८, आइतबार

४ पुस, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

प्रधानमन्त्री देउवाले उधौली पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै नेपालको उच्च पहाडी भूभागमा ठूलो सङ्ख्यामा बसोबास गर्ने किरात समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

किरात समुदायको मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु हुने र यो समयमा लेकबाट घरपालुका वस्तुभाउ लिएर बेँसितिर बसाइ सर्ने समय भएको सङ्केतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा उक्त पर्व मनाउने चलन छ ।

Advertisement

यस पर्वमा परम्परागत भेषभूषा लगाएर किरात दाजुभाइ तथा दिदीबहिनीले सार्वजनकि रुपमा भेला भई परम्परागत एवं मनमोहक साकेला नृत्य तथा गीत प्रस्तुत गर्ने चलन छ ।

भूमिको श्रद्धासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नका लागि भगवानलाई धन्यवाद दिँदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थनासमेत गर्ने चलन छ, प्रधानमन्त्री देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, यसले किरात सम्प्रदायमा आफ्नो मातृभूमिप्रतिको आगाध प्रेम र देशभक्तको भावना रहेको दर्शाउँछ ।

Advertisement

किरातहरू आफूलाई भूमिका सन्तान मान्छन् र यस दिनलाई पवित्र भूमि पूजाका रुपमा पनि लिइने सन्देशमा उल्लेख छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top