झापा, साउन २८
भद्रपुरस्थित झापा कारागार भित्रैबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा तैनाथ प्रहरी सहायक निरीक्षकसहित ६ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छ ।
झापा कारागारमा सुरक्षाका जिम्मा पाएका प्रहरी नायव निरीक्षक (सई) हस्तबहादुर श्रेष्ठ घर बिदा बसेका बेला उनको स्थानमा इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक गणेश राईसहित डियुटीमा खटिएका एक जना प्रहरी हवल्दार, चार जना प्रहरी जवान गरी ६ जनालाई जिल्ला तानिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
प्रहरी कर्मचारीको लापरवाहीले कारागारबाट कैदी भागेका हुनाले उनीहरुलाई तत्काल कारागारको सुरक्षाबाट हटाइएको उनले जानकारी दिए । प्रहरी संगठनको नीति तथा कानुन बमोजिम प्रहरी कर्मचारीलाई कारवाही गरिने उनले बताए ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कैदीबन्दी फरार भएको बिषयमा छानविन समिति गठन गरी कानुन प्रक्रिया अघि बढाइनेछ । आइतबार दिउँसो करिब ३ बजेको समयमा झापा कारागारबाट फिल्मी शैलीमा गौरादह नगरपालिका ८ निवासी अन्दाजी २४ बर्षीय उमेश माझी फरार भएका थिए ।
जुरोपानीका १४ बर्षीय किशोरीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते आजीवन कारावासको सजाय सुनाएको थियो । जेल जिवन बिताइरहेका माझी पेशाले इलेक्ट्रिशियन थिए ।
आइतबार कारागारभित्रै बिजुली बनाउने काम गर्नका उनले सिढीको प्रयोग गरेका थिए । सिढी चढेर काम गर्देगर्दा उनी पर्खाल नाघेर फरार भएका थिए । फरार भएका उनलाई केही घण्टामै प्रहरीले फेला पारेपनि गरामनीमा प्रहरीमाथि ढुंगा प्रहार गरी पुन भाग्न सफल भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।