इलाममा उत्पादित किबीको बिरुवा भुटान निर्यात

६ पुस ७८, बुधबार

७ पुस, झापा ।
पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भुटान निर्यात हुन थालेको छ। इलाममा उत्पादित किबीको बिरुवा भुटान निर्यात गरिएको हो।

Advertisement

भुटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताए। एक लाख १५ हजार रूपैयाँ बराबरको एक हजार २०० वटा किबीको बिरुवा भुटान निकासी भएको छ। उनले भने‚ ‘चालु आवमा पहिलोपटक किबीको बिरुवा पूर्वीनाका हुँदै निर्यात भएको हो।’

किबी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन गरेको सोही फलको बिरुवा निर्यात हुनु सुखद् कुरा भएको साहुले बताए। उनले थपे‚ ‘यसबाट किसानमा उत्साह थपिन्छ।’

Advertisement

यसअघि आर्थिक वर्ष २०७४–७५ मा १०० र आर्थिक वर्ष २०७५–७६ मा किबीका २०० वटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। इलाममा एक दशकअघि किबीखेती सुरु गरिएकामा हाल उक्त खेती २० हजार रोपनीमा विस्तार भएको छ।

लामो समयदेखि किबीको नर्सरी सञ्चालन गर्दै आएको हिस्ट्री किबी प्रालिले बंगलादेश र भारतका विभिन्न ठाउँमा किबीको बिरुवा निर्यात गर्दै आएको सञ्चालक पार्वती खतिवडाले बताइन्। पाँच वर्ष अघिदेखि किबीको बिरुवा भुटान निर्यात गर्दै आएको उनको दाबी छ।

Advertisement

समुद्र सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किबीखेती हुने गरेको छ। खतिवडाले भनिन्‚ ‘यस वर्ष १० हजारभन्दा बढी बिरुवा बिक्री भइसकेको छ।’(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top