काठमाडौं,साउन २८
साफ यू–१५ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज साविक विजेता बंगलादेशको सामना गर्दैछ । खेल भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ । समूह ‘बी’ बाट यसअघि नै दुवै टोली सेमिफाइनलमा पुगिसकेकोले आजको खेलबाट समुह विजेता र उपविजेता छुट्टिने छ ।
समुह चरणका यसअघि भएका खेलमा बंगलादेशले पाकिस्तानमाथि १४–० को फराकिलो जित दर्ता गर्दा नेपालले पनि पाकिस्तानलाई ४–० को अन्तरमा पराजित गरेको थियो । दुई हारसँगै पाकिस्तान समूह चरणबाटै बाहिरियो । आजको खेल बराबरी भएमा दुवै टोलीको समान ४ अंक पुगेपनि बंगलादेश गोल अन्तरमा समूह विजेता बन्नेछ । यता, नेपाललाई समूह विजेता बन्न निश्चित जित आवश्यक छ । आजै भारत र भुटानबीच दिउसो ४ बजे खेल हुनेछ ।
यी दुई टिमबीचको विजेता समूह ‘ए’ को विजेता बन्नेछ । समूह ‘ए’ मा भारतले श्रीलंकामाथि १२–० को तथा भुटानले पनि श्रीलंकामाथि ६–० को सहज जित निकालेर सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलका खेलहरु १६ अगस्टमा हुनेछ ।