१९ पुस, विराटनगर ।
अमेरिकामा सांगीतिक प्रस्तुतिका क्रममा गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले माफी मागेका छन् ।
अमेरिकामा बस्दै आएका सोलु खरिखोलाका पासाङ दावा शेर्पाले राईलाई खादा ओडाएर माफी मागेका हुन् । शेर्पाले माफी माग्ने क्रममा आफू डिप्रेस भएको र मादक पदार्थ धेरै लागेकाले सो घटना घटेको बताएका छन् ।
उहाँलाई मैले अंगालो मारेर उचालेको मात्र थिएँ । अलि बढी एग्रेसिभ भएछु । न्यु इयरको दिन अलिकति लागिसकेको थियो । मैले उहाँलाई स्टेजमा गएर यसो गर्दा डिस्टर्ब गरेजस्तो भयो । त्यसकारण म राजेश सरका सबै फ्यानसँग माफी माग्न चाहन्छु ।
राजेश सरलाई खादा लगाएर माफी माग्छु, उनले भनेका छन् । अमेरिकामा शेर्पाले माफी मागेको भिडियो गायक राईले सामाजिक सञ्जालमा सेयर गरेका छन् । भिडियो सेयर गर्दै राईले शेर्पा बिरामी भएका कारण माफी दिन फ्यान तथा शुभचिन्तकलाई आग्रह गरेका छन् ।
मानिस हो मानिसबाटै गल्ती हुन्छ । गल्ती स्वीकार्नु पनि महानता हो । र, उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना । अब उप्रान्त उहाँलाई गाली गलौज नगर्न आग्रह गर्दछु, राईले लेखेका छन् ।
गायक राईले शेर्पा नेपाली भएकै कारण कुनै कानुनी कारबाही नगरेको बताए । बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ, न्यूयोर्कको आयोजनामा ‘न्यु इयर इभ’को सांगीतिक प्रस्तुतिका क्रममा शनिबार उक्त घटना घटेको थियो । आयोजक टिमका पशुपति श्रेष्ठले पनि अब यस्ता घटना नदोहोरिने बाचा गर्दै राईसँग माफी मागेका छन् ।