Nepal Times
Nepal Times
3
Shares

यसवर्ष पनि एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत हुने 

यसवर्ष पनि एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत हुने 

२० पुस, काठमाडौं ।
२०७८ सालको एसईई परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत नै हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको हालैको बैठकमा एसईई परीक्षाका सम्बन्धमा छलफल भएको र तत्कालका लागि कायम रहेको कानुनी व्यवस्था अनुसार नै अघि जाने तयारी रहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

‘संसदीय समितिले दिएको निर्देशनको मर्म संघीयता अनुसार कक्षा ८ को स्थानीय तह, १० कक्षाको प्रदेश तह र १२ कक्षाको राष्ट्रिय तहमा परीक्षा गर्नु भन्ने हो’, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. शर्माले भने, ‘तर त्यो अनुसार परीक्षा गर्नका लागि कानुनी व्यवस्था हुनु पर्छ । तत्कालका लागि सो अनुसारको कानुनी व्यवस्था छैन ।’

हालको शिक्षा ऐनले कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गरी सोही अनुसार नै प्रमाणपत्र वितरणको जिम्मेवारी दिएको उनले बताए । ‘तत्कालका लागि कानुनी रुपमा स्पष्ट नभई वा जिम्मेवारी थप स्पष्ट हुने गरी ऐनमा संशोधन नभएसम्म बोर्डबाटै परीक्षा हुन्छ’, उनले भने ।

अहिले नै एसईई परीक्षालाई लिएर ठोस निर्णय नभएको र आफूहरु आन्तरिकसँगै संसदीय समितिसँग पनि छलफलमा रहेको अध्यक्ष शर्माले जानकारी दिए ।

पुस ८ गते बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) नै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । कक्षा १२ सम्म विद्यालय तह भएकाले १० मा लिइने राष्ट्रिय परीक्षा खारेज गर्न समितिले निर्देशन दिएको हो ।

तर बोर्डका अध्यक्ष शर्माले भने समितिको निर्देशनमा थप स्पष्ट हुन बाँकी रहेको र त्यसका लागि छलफल जारी रहेको बताए । त्यसपछि कुन तहको परीक्षा कसले लिने र कसरी प्रमाणपत्र वितरण गर्ने भन्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुनु पर्ने उनले बताए ।

तत्कालका लागि कायम कानुनले १० कक्षाको परीक्षा आफूहरुकै जिम्मेवारीमा रहेको उनले बताए । अहिले नै कहिले परीक्षा गर्ने भन्नेबारे यकिन नभएको तर विद्यार्थीहरुलाई परीक्षाको तयारीमा जुट्न भने आग्रह गरिने उनले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.