ऐतिहासिक तोप–गोला ५० वर्षपछि पुनः दैलेखमै फिर्ता

२१ पुस, दैलेख ।
दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ।

Advertisement

विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ।

सुर्खेतको राजदल गणमा राखिएका ‘सुन्दरी’ नामक तोप र ८१ थान गोला दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामालाई हस्तान्तरण गरिएको थियो। आज बिहान फलाँटेस्थित तालिम केन्द्रमा पूजापाठ गरी सैनिक गाडीमा राखेर तोप–गोला दैलेख पुर्‍याइएको हो।

Advertisement

इन्द्रदल गुल्मका गुल्मपति लामाले हाल तोप र गोला काँडाचौरस्थित गुल्ममै राखिने बताउँदै भने, ‘कोतगढीमा तोपघर निर्माण पूरा नहुञ्जेल सैन्य सामग्री काँडाचौर ब्यारेकमै राखिनेछ।’

दैलेख सदरमुकामस्थित पुरातात्विक सम्पदा कोतगढी नेपाली सेनाको स्वामित्वमा छ। नारायण नगरपालिकाले कोतगढीको पर्यटकीय विकासका लागि तोप घर निर्माण गरिरहेको छ। नारायण नगरपालिका र इन्द्रदल गुल्मले जङ्गी अड्डासमक्ष तोप र गोला दैलेखमा पुनःस्थापना गर्न माग गर्दै आएका थिए।
बुढापाकाका भनाइमा २०२८ सालमा दैलेखमा भोकमरीका कारण सैनिक गण नै सुर्खेत सार्नुपरेको थियो। जिल्लामा खाद्यान्न अभाव भई भोकमरीको अवस्था सिर्जना हुनु र तराईबाट खाद्यान्न ढुवानी गर्न सडक तथा अन्य वैकल्पिक ढुवानीका साधन नहुँदा सरकारले कोतगढीमा बस्दै आएको गण सुर्खेत सारेको थियो।

Advertisement

सैनिक गणसँगै सुन्दरी, अर्गा तोपका साथै परम्परागत गोला बारुद पनि सुर्खेत ल्याइएको थियो। पित्तल धातुको सुन्दरी तोप विसं १८४६ ताका बनेको बताइन्छ। नारायण–१ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले दैलेखको इतिहाससँग जोडिएका तोप–गोलाको पुनःस्थापनाले जिल्लाको पर्यटन विकासमा मद्दत पुग्ने बताए।

उनले ऐतिहासिक कोतगढीमा तोप गोला राख्न आवश्यक पूर्वाधार निर्माण भइरहेको जानकारी दिए। ‘यो नेपाली सेनाको मात्रै होइन, हाम्रो जिल्लाकै अमूल्य सम्पत्ति हो’, उनले भने, ‘सेनासँग सहकार्य गरेर कोतगढीमा संरक्षण र सम्बर्द्धन नगरपालिकाले गर्नेछ, त्यसका लागि पूर्वाधारको व्यवस्थापनको काम भइरहेको छ।’ (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top