३० पौष, एजेन्सी । भारतमा एकै दिन साढे दुई लाखभन्दा धेरैमा कोभिड–१९ (कोरोना भाइरस)को सङ्क्रमण पुष्टि भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यही अवधिमा तीन सय १५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये पाँच हजार सात सय ५३ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यही अवधिमा एक लाख नौ हजार तीन सय ४५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले भारतमा १२ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका त्यहाँको मन्त्रालयले जनाएको छ ।
अहिले भारतमा कोरोना सङ्क्रमण दर १४ प्रतिशतभन्दा धेरै छ । यहीबीचमा एकै दिन ७३ लाख जनाभन्दा धेरैलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म एक सय ५५ करोड जनसङ्ख्यालाई खोप लगाइएको त्यहाँको मन्त्रालयले जनाएको छ ।