३० पौष, विराटनगर । नोबेल मेडिकल कलेज संचालक तथा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् ।
शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । पाँच जनाको समूहमा रहेका विद्यार्थीले ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बोधन गरेका थिए ।
शर्माले नमस्कार समेत फर्काउन नपाउँदै विद्यार्थीले कालोमोसो दलेका हुन् । कालोमोसोले पोतिएका शर्मा मन्त्रालयमा मुख धोइ गाडी चढेर सिंहदरबारबाट निस्किएका थिए । कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले अनेरास्ववियू केन्द्रीय उप–महासचिव महेश श्रेष्ठ र नेता अमर पुनले सुनिल शर्मालाई कालोमोसो दलेको पुष्टि गरेको छ। उनीहरु अहिले प्रहरी नियन्त्रणमा रहेको सो संगठनले जनाएको छ ।
कालोमोसो दलेकोमा उनीहरुलाई संगठनले धन्यवाद दिएको छ । कालोमोसो दल्ने विद्यार्थीको माओपार्टी समाजवादी र शर्मा आवद्ध नेपाली कांग्रेस पार्टी भने सत्तारुढ दल हुन् । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् ।
शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए ।
बैठकले गरेको पाँच निर्णयमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । सरकारले तोकेभन्दा अतिरिक्त शुल्क लिइएको भन्दै दुई हप्ताभन्दा लामो समयदेखि नोबेलमा विद्याथीहरुले आन्दोलन गर्दै आएका छन् ।
बिहीबार मात्रै आन्दोलित विद्यार्थीहरुले संचालक शर्माको विराटनगरस्थित नोबेल मेडिकल परिसरमा पुत्लादहन गरेका थिए । कलेज प्रशासनले भने तोकिएभन्दा बढी शुल्क नदिइएको र होस्टल वापतको शुल्क नदिएसम्म विद्यार्थीहरुलाई पढ्न नदिने बताउदै आएको छ ।