६ माघ, एजेन्सी ।
ब्राजिलियन फुटबलर रोबिन्होले सामूहिक बलात्कारमा दोषी ठहर गर्ने तल्लो अदालतको फैसलाविरुद्ध गरेको अन्तिम अपिलमा पराजित भएका छन् ।
उनी सन् २०१३ मा इटालीको मिलानमा एक महिलामाथि भएको सामूहिक बलात्कारमा दोषी ठहरिएका हुन् । इटालीको सर्वोच्च अदालतले बुधबार ३७ वर्षका रोबिन्होको अपिलमा फैसला गर्दै तल्लो अदालतको आदेश सदर गरेको हो ।
अर्थात उनलाई ९ वर्षको जेल सजाय भएको छ । सन् २०१७ मा रोबिन्हो र अरु पाँचजना ब्राजिलियनहरु २२ वर्षकी अल्बानियन युवतीलाई नाइटक्लबमा दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर भएका थिए ।
त्यसविरुद्ध गरेको पुनरावेदन अपिलमा सन् २०२० मा रोबिन्हो पराजित भएका थिए । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् । तर सर्वोच्च अदालतले पनि सजायको आदेश सही ठहर गरेको हो ।
रोबिन्हो ब्राजिलमा रहेकाले उनले इटालीमा जेल सजाय पाउने सम्भावना भने छैन । ब्राजिलको कानूनले आफ्ना नागरिकको सुपुर्दगी बन्देज गर्छ, तर इटालीले ब्राजिलसँग रोबिन्होको जेल सजाय उनकै देशमा पूरा गर्न आग्रह भने गर्न सक्ने छ ।
ब्राजिलका लागि १०० खेल खेलेका रोबिन्होले रियल मड्रिडबाट दुईपटक ला लिगा उपाधि जितेका छन् । उनले सान्तोस, म्यानचेस्टर युनाइटेड, एसी मिलानसहितबाट खेलेका छन् ।