काठमाडौं,साउन ३०
एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको खेलमा जापानसँग १–० ले पराजित भएको नेपाली यू–२३ को टोलीले प्रतिखेलाडी १ सय डलर बोनस पाउने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली खेलकुदअन्तर्गतको फुटबलमा जापानविरुद्ध पराजित भएको नेपाली टोलीलाई १ सय डलर बोनस दिने घोषणा गरेका हुन् ।
मंगलबार भएको प्रतियोगिताकै दाबेदार मानिएको जापान विरुद्धको खेलमा नेपालले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको थियो भने कप्तान एवं गोलरक्षक किरण चेम्जोङले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । अध्यक्ष शेर्पाले बुधबार चितवनमा जारी १७ औं विशेष साधारणसभाको उद्घाटन सत्रमा बोल्दै टोलीको हौसला बढाउन आफूले बोनस रकम घोषणा गरेको बताएका छन् ।
उनले प्रतियोगिताका अन्य खेलमा पनि बोनस रकम राखेको जानकारी दिए । शेर्पाले भने, ‘मैले टोली इन्डोनेसिया जानुअघि बोनस घोषणा गरेको थिएँ । जापानसँग ३(० अन्तरले पराजित भएमा १ सय डलर दिने भनेको थिएँ । खेलाडीहरुले राम्रो खेले र १–० को नतिजामा रोक्न सफल रहे । उनीहरुले अब वाचाअनुरुप बोनस प्राप्त गर्नेछन् ।’ उनले भियतनामसँग जित हात पारे १ सय ५० र पाकिस्तानलाई हराए १ सय डलर बोनस दिने घोषणा गरे ।
नेपालले प्रतियोगिताको समूह ‘डी’ अन्तर्गत बिहिबार भियतनामको सामना गर्नेछ । समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग भिड्नेछ । अर्को चरणमा पुग्न नेपाललाई समूहको शीर्ष २ स्थान अथवा ६ समूहमध्य चार उत्कृष्ट तेस्रो स्थानको टोलीमा पर्नुपर्ने छ ।