विराटनगर, साउन ३१
नेपाल प्रेस युनियन मोरङले प्रेस काउन्सीलले सार्वजनिक गरेको पत्रपत्रिकाको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न माग गरेको छ । युनियनले बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत सञ्चारमन्त्री गोकुल बास्कोटालाई ज्ञापनपत्रसमेत पठाएको छ ।
प्रेस काउन्सील नेपालले साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाप्रति आपत्ति जनाउँदै युनियनले ज्ञापनपत्र पठाएको प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए ।
निर्णय तत्काल सच्याई पारदर्शी र निष्पक्ष ढंगबाट प्रक्रियागत रुपमा नतिजा सार्वजनिक गर्न युनियनले माग गरेको छ । नतिजा निकाल्ने क्रममा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हाबी भएको ज्ञापनपत्रमा उल्लेख छ ।
नियमित रुपमा प्रकाशन भइरहेका पत्रपत्रिकालाई वर्गीकरणमा घटुवा गरी सोही ठाउँमा कहिलेकाहीं प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएको युनियनले आरोप लगाएको छ । काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रुपमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा बुझाई सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा लिएको ज्ञापनपत्रमा भनिएको छ ।
२०५८ सालदेखि प्रकाशित र २०६० सालदेखि निरन्तर रुपमा (ग) वर्गीकरणमा पर्दै आएको मोरङको उर्लाबारीबाट प्रकाशित हुने अलकापुरी नेपाल साप्ताहिक, राष्ट्रिय समाचारपत्र दैनिक, पथरीबाट प्रकाशित हुने कुरकुरे डट कम साप्ताहिक यसपटक कुनै स्तरमा नपर्नु र उर्लाबारीबाटै प्रकाशित हुने निगरानी दैनिक (क) बाट एकैपटक (घ) मा घटुवा हुनुले काउन्सीलको निर्णय राजनीतिक प्रतिशोधले भरिएको ज्ञापनपत्रमा उल्लेख छ ।
विराटनगरबाट प्रकाशित हुने सृष्टि दैनिक, नेसनल पोष्ट साप्ताहिक, कान्तिपथ साप्ताहिक, जनहित साप्ताहिक, विराटनगर साप्ताहिकलगायतको वर्गीकरणलाई पुनरावलोकन गर्न माग गरिएको सचिव विनोद सुवेदीले बताए ।
मागलाई सम्बन्धित निकायले बेवास्ता गरे केन्द्रको निर्देशनबमोजिम चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ । साथै भदौ १ गतेदेखि लागू हुन गइरहेको मुलुकी अपराध (संहिता) ऐन र मुलुकी देवानी (संहिता)ले प्रेसजगतलाई अंकुश लगाउने किसिमको भएको युनियनको ठहर छ ।