एजेन्सी,भदौ १
बार्सिलोनाका स्टार लियोनल मेस्सीले कम्तीमा यो २०१८ भरी अर्जेन्टिनाबाट नखेल्ने समाचार सार्वजनिक भएको छ ।पाँच पटकका बालोन डी ओर विजेता भविष्यमा अर्जेन्टिनाबाट खेल्ने नखेल्ने नयाँ प्रशिक्षकको आगमनपछि तय हुने बताइएको छ । ३१ वर्षे मेस्सी अर्जेन्टिना फुटबल संघले गर्ने नयाँ प्रशिक्षकको नियुक्तीलाई हेरिरहेका छन् । रसिया विश्व कपमा अन्तिम १६ बाट बाहिरिएपछि अर्जेन्टिनाले प्रशिक्षक जर्ज साम्पोलीलाई बर्खास्त गरेको थियो ।
त्यसपछि वेस्ट ह्यामका पूर्व रक्षक लियोन स्कालोनीलाई टोलीको कार्यवहाक प्रशिक्षक नियुक्ती गरिएको थियो । मेस्सीलार्ई २०१८ को बाँकी अवधिका लागि टोलीमा समावेश नगरिने समाचारहरुमा उल्लेख गरिएको छ । सम्भवत उनले अर्को वर्ष सन्यास लिने अनुमान गरिएको छ । विश्व कपमा आइसल्यान्ड्, नाइजेरिया र क्रोएसिया सम्मिलित समूहबाट उपविजेतका रुपमा अर्जेन्टिना अन्तिम १६ मा पुगेको थियो ।
अर्जेन्टिनाबाट १ सय २८ खेल खेलिसकेका मेस्सीले ६५ गोल गरिसकेका छन् । अहिले सम्म व्यवसायिक खेल जीवन बार्सिलोनामा बिताएका मेस्सीले १५ सिजनमा टोलीका लागि ५ सय ५२ गोल गरिसकेको छन् । उनको महत्वपूर्ण भूमिकामा अर्जेन्टिनाले २००८ मा ओलम्पिकमा स्वर्ण पदक जितेका थियो ।
मेस्सीले यो वर्ष नखेल्ने निर्णयलाई अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको मान्न नमिल्ने कतिपयले बताएका छन् । अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टिभेजले मेस्सीले आरामका लागि यस्तो निर्णय गरेको हुन सक्ने अनुमान लगाएका छन् । २०१६ मा चिलिसँग कोपा अमेरिका कप फाइनलमा हारेपछि मेस्सीले सन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनाका समर्थकको व्यापक दबाब पछि उनी पुनः टोलीमा फर्केका थिए ।