Nepal Times
Nepal Times
3
Shares

पहिलो दिन जयनगर–कुर्था रेलमा यात्रु भरिभराउ

पहिलो दिन जयनगर–कुर्था रेलमा यात्रु भरिभराउ

२१ चैत, जनकपुर । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् ।

भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए।

आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै १०ः१५ मा आइपुगेको थियो। पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए।

निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्न थालेको उनको भनाइ छ। उनकाअनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ। जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काे रेल छुट्ने उनले बताए।

लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दङ्ग भएका छन्।

स्थानीय युवा सञ्जय झा रेल नियमितरुपमा चल्न थाल्दा अबको केही वर्षमा नै जनकपुर र आसपासका ठाउँको अवस्था बदलिने आशा व्यक्त गर्छन्।

रेल सेवा सुरु भएसंगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने उनको विश्वास छ।

रेल नियमित सञ्चालन हुने हल्ला सुनेका जनकपुरवासी केही दिनदेखि नै उत्साहित भएका थिए। कतिपय शनिबार बिहानै त कतिपय शुक्रबार साँझदेखि स्टेशन पुगेर रेल हेर्दै थिए। कतिपयले रेलको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाले त कतिपयले आफन्तजनलाई पठाए।

जनकपुरका युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कतिपय जनकपुरबाट टाढा–टाढाबाट समेत रेल हेर्न आएका थिए। रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट छन्। तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन्।

नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) अमन चित्रकारले बताए।
यसमा चालकले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ। एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्काे स्टेशन आउँछ। यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ।

मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए। रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ। भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिए।

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ। एसिका लागि भने त्यसको पाँच गुणा अर्थात रु ४५० तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वत भाडादर त्योभन्दा कम हुनेछ ।

भारत सरकारसँग सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो। तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन ।

सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.