काठमाडौं, भदौ १
पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले पूर्व ब्याट्सम्यान नासिर जम्सेदलाई १० वर्षको प्रतिबन्ध लगाएको छ । पाकिस्तान सुपर लिगमा स्पट फिक्सिङमा संलग्न भएको भन्दै पीसीबीले उनलाई १० वर्षका लागि कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
पाकिस्तानका लागि ४८ एक दिवशीय र दुईवटा टेस्ट खेलेका जम्सेदलाई अघिल्लो वर्षको फेब्रुअरीमा पीसीबीले अनुशन्धानमा सहयोग नगरेको भन्दै एक वर्षको प्रतिबन्ध लगाएको थियो ।
पाकिस्तान सुपर लिगको पहिलो दुई संस्करणमा उनले सहभागिता जनाएका थिएनन् । तर गत वर्षको संस्करणमा स्पट फिक्सिङ गराउन उनको भूमिका सबैभन्दा ठूलो थियो ।
यस प्रकरणमा संलग्न ब्याट्सम्यान द्वय शार्जिल खान र खालिद लतिफलाई भने पाँच वर्षको प्रतिबन्ध लागेको छ । यस्तै पाकिस्तान क्रिकेट बोर्डले तिब्र गतिका बलर मोहम्मद इर्फानलाई एक वर्ष र अलराउण्डर मोहम्मद नवाजलाई दुई महिनाको प्रतिबन्ध लगाएको छ ।