विराटनगर, २ वैशाख । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।
स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो ।
बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएको थियो । घर जलेपछि त्यहाँ रहेका बालकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
आगलागी नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको ज्यान गएको स्थानीय बताउँछन् । शुक्रबार दिउँसो ३ बजे आगलागी भएको हो । आगलागीको क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
आगलागीमा ज्यान गुमाएका शैलेशको बुबा भने वैदेशिक रोजगारीको क्रममा विदेशमा छन् । आमा घरकै काममा व्यस्त भएको बेला बालकको मृत्यु भएको स्थानीयको भनाइ छ ।