अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

२६ जेठ ८३, बुधबार

२७ जेठ , काठमाण्डौ।

५० वर्षदेखिको सपना, २२ अर्ब रुपैयाँको लगानी र झण्डै साढे तीन वर्षको लामो प्रतिक्षा । के पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब साँच्चै अन्तर्राष्ट्रिय बन्न लागेको हो त? वर्षौँदेखि सुनसान जस्तै बनेको यो भव्य विमानस्थलमा अब एउटा ठूलो हलचल सुरु हुँदैछ । विश्वकै प्रख्यात र ठूलो सञ्जाल भएको ’फ्लाई दुबई’ ले पोखराबाट सिधै दुबईका लागि दैनिक उडान भर्ने घोषणा गरेको छ ।

मरुभूमिलाई स्वर्ग बनाएको दुबई अब सिधै माछापुच्छ्रेको काखसँग जोडिँदैछ । यो केवल एउटा उडानको सुरुवात मात्र होइन, यो पोखराका लागि विश्व बजारको ढोका खुल्नु पनि हो । तर, यो उडान निरन्तर टिक्नेमा भने अहिले पनि शंका ब्यक्त गरिन्छ । सबैभन्दा पहिले तथ्यबाट सुरु गरौँ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले फ्लाई दुबईलाई आगामी सेप्टेम्बर २३ (तदनुसार असोज ७ गते) देखि पोखरा–दुबई–पोखरा रुटमा नियमित दैनिक उडानका लागि अनुमति दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, फ्लाई दुबईको एउटा उच्चस्तरीय प्राविधिक टोलीले केही समयअघि मात्रै पोखरा विमानस्थलको सुरक्षा, सेफ्टी र ग्राउन्ड ह्यान्डलिङको विस्तृत निरीक्षण गरेको थियो ।

सो टोलीको सकारात्मक रिपोर्टपछि मात्रै कम्पनीले उडानको अनुमति मागेको हो । फ्लाई दुबईले पोखरामा १६६ सिट क्षमताको ‘बोइङ ७३७–८०००’ सिरिजका जहाजहरू उडान गर्नेछ । तालिका अनुसार, जहाज हरेक दिन साँझ पोखरा अवतरण गर्नेछ र करिब ५ घण्टाको उडानपछि पुनः दुबईका लागि प्रस्थान गर्नेछ ।

प्रारम्भिक चरणमा, क्यानले एक महिनाका लागि उडान अनुमति दिएको छ । यो एक महिना कम्पनीका लागि परीक्षण काल जस्तै हुनेछ । यदि यात्रुको सङ्ख्या पर्याप्त भयो र व्यावसायिक रूपमा यो रुट सफल देखियो भने, फ्लाई दुबईले यसलाई दीर्घकालीन रूपमा अगाडि बढाउनेछ । धेरैलाई लाग्न सक्छ, दुबई उडान हुनु भनेको दुबई जाने मान्छेका लागि मात्र त हो नि ! तर कुरा त्यति मात्र होइन ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार, यो पोखराका लागि विश्वका २५० देखि ३०० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडिने गोल्डेन गेट हो । कसरी? यो कुरा बुझौँ । दुबई विश्वकै व्यस्त र महत्त्वपूर्ण हवाई ट्रान्जिट हब हो । फ्लाई दुबई र यसको भगिनी कम्पनी ’इमिरेट्स’ मार्फत यात्रीहरूले दुबई पुगेपछि त्यहाँबाट अमेरिका, युरोप, अफ्रिका र बाँकी एसियाका जुनसुकै सहरमा सजिलै कनेक्टिङ फ्लाइट लिन सक्छन् ।

अहिले पोखरा आउने विदेशी पर्यटकहरू पहिला काठमाडौँ ओर्लनुपर्ने, फेरि आन्तरिक उडान वा बसबाट पोखरा आउनुपर्ने झन्झट थियो । अब लन्डन, न्यूयोर्क वा पेरिसबाट हिँडेको पर्यटक दुबई हुँदै सिधै पोखरा ओर्लन सक्नेछन् । यसले पर्यटकको समय र पैसा दुवै बचत गर्नेछ, जसको प्रत्यक्ष फाइदा पोखराको पर्यटन व्यवसायलाई हुनेछ ।

यति मात्र होइन, गण्डकी प्रदेश र आसपासका जिल्लाका हजारौँ नेपाली दाजुभाइ दिदीबहिनीहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् । उनीहरूका लागि अब काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । आफ्नै आँगनको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पाउनु उनीहरूका लागि ठूलो राहत हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कथा जति भव्य छ, यसको सङ्घर्ष पनि त्यति नै पीडादायी छ । सन् २०२३ को जनवरी १ मा तामझामका साथ उद्घाटन गरिएको यो विमानस्थल झण्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा बनेको हो । उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि यहाँबाट कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन् ।

बिचमा केही चार्टर उडानहरू भए, चीनबाट केही जहाजहरू आए, तर ती सबै अस्थायी थिए । यसअघि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सुरु गरेको थियो, तर त्यो व्यावसायिक रूपमा टिक्न सकेन र गत मार्चदेखि बन्द भयो। विमानस्थल केवल आन्तरिक उडानमा सीमित हुँदा यसलाई ‘सेतो हात्ती’ को संज्ञा दिन थालिएको थियो ।

वार्षिक करोडौँ रुपैयाँ ब्याज तिर्नुपर्ने दबाबमा रहेको सरकारका लागि फ्लाई दुबईको यो प्रवेश एउटा ठूलो अक्सिजन साबित हुन सक्छ । फ्लाई दुबईको उडानको खबरले पोखराका पर्यटन व्यवसायीहरूमा नयाँ ऊर्जा थपेको छ । तथ्याङ्कअनुसार, यो विमानस्थल बनेपछि पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट झण्डै १ खर्ब रुपैयाँ बराबरको थप लगानी भएको छ ।

ठूला–ठूला पाँचतारे होटलहरू निर्माण भएका छन्, साहसिक पर्यटनका पूर्वाधारहरू थपिएका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य भन्छन्— “यो केवल हवाई सेवा मात्र होइन, यो पोखराको अन्तर्राष्ट्रिय पहिचान र आर्थिक क्रान्तिको अवसर हो।” उनले काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न र पोखरालाई वास्तविक पर्यटकीय राजधानी बनाउन यो उडानले मेरुदण्डको काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

विज्ञहरूको विश्लेषण छ कि यदि फ्लाई दुबईको दैनिक उडान सफल भयो भने, यसले अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरू जस्तै कतार एयरवेज, एयर इन्डिया वा चिनियाँ कम्पनीहरूलाई पनि पोखरा आउन प्रोत्साहन गर्नेछ । तर के सबै कुरा सोचेजस्तै सजिलो छ त? पक्कै छैन । फ्लाई दुबईको यो उडानलाई दीर्घकालीन बनाउन केही गम्भीर चुनौतीहरू छन् ।

पहिलो, हवाई रुटको समस्या । अहिले पनि पोखरा छिर्ने अन्तर्राष्ट्रिय जहाजहरूले सिमराको एउटै एयर इन्ट्री पोइन्ट प्रयोग गर्नुपर्ने बाध्यता छ । यदि भारतले पश्चिम नेपालबाट नयाँ प्रवेश मार्ग दिएमा यो उडान अझै छोटो र सस्तो हुने थियो । दोस्रो, यात्रुको निरन्तरता । फ्लाई दुबईले एक महिनाको परीक्षण काल तोकेको छ ।

यसको अर्थ हो— यदि यात्रु पुगेनन् भने उनीहरूले सेवा बन्द गर्न सक्छन् । त्यसैले, पर्यटन बोर्ड र निजी क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा पोखराको व्यापक प्रचार गर्न आवश्यक छ । तेस्रो, सरकारी नीति । सरकारले बजेटमार्फत पोखरा र भैरहवा विमानस्थलमा उडान गर्ने कम्पनीलाई विशेष छुट दिने घोषणा त गरेको छ, तर त्यसको कार्यान्वयन र कूटनीतिक पहल अझै सशक्त हुनुपर्छ ।

हामीले के बुझ्न जरुरी छ भने, २२ अर्बको ऋण तिर्न र यो विमानस्थललाई जीवन्त राख्न केवल एउटा एयरलाइन्स मात्र पर्याप्त छैन । तर सुरुवात सधैँ एउटा पाइलाबाट हुन्छ, र फ्लाई दुबईले त्यो पहिलो दरिलो पाइला चालेको छ । पोखरा अब काठमाडौँको विकल्प मात्र होइन, विश्वको एउटा प्रमुख ट्रान्जिट हब बन्ने बाटोमा छ । तर यो अवसरलाई सदुपयोग गर्नु सबैले भूमिका खेल्नुपर्नेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top