चितवन, ३ बैशाख । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताउनुभएको छ । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र) लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताउनुभयो ।
हिजो चितवन आएका कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र) लाई छाड्ने गरी तालमेल हुने बताउनुभएको थियो । सिंहको भनाइले जिल्लामा पुनः तरंग ल्याएको हो । भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि कांग्रेसले पाउनुपर्ने खनालले दोहोर्याउनुभयो ।
‘कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौँ । म कांग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निश्कर्षमा पुग्ने हो । जुन निकायले निर्णय गर्ने हो भोलि नतिजा अनुकुल वा प्रतिकुल हुँदा पनि त्यो निकायले पूर्ण रुपमा जिम्मा लिनुपर्छ,’ उहाँले भन्नुभयो । चितवन कांग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराईसकिएको उहाँले सुनाउनुभयो ।
नजिता सकरात्मक आउने तरिका यो हो भनेर चितवन कांग्रेसले सघन छलफल गरेर केन्द्रीय समितिलाई लिखित प्रतिवेदन बुझाइसकेको भन्दै उहाँले एकात्मक खालको अवसरबाट गठबन्धनलाई स्थायित्व दिन नसकिने र जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने बताउनुभयो । ‘समयको आवश्यकता अनुसार बनेको गठबन्धनसँग तालमेल गरेरअघि बढ्ने कुरामा तयार छौँ तर तालमेल जायज हुनुपर्यो । ग्राउण्ड सुहाउँदो हुनुपरयो’ उहाँले थप्नुभयो ।
नेपाली कांग्रेसको मूल्य, मान्यता, सिद्धान्त र विधानमा रुख चिह्नबाहेक अन्त पनि मत हाल भन्ने व्यवस्था नरहेको भन्दै उहाँले गठबन्धन गरेर अन्य चिह्नमा मत हाल्ने निर्णय गर्नु नै अनुशासनहिन काम भएको बताउनुभयो । विगतमा गरेको सहयोग र वर्तमान संगठनको हिसाबले भरतपुर महानगरले मेयर कांग्रेसले पाउने गरी गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको संस्थागत निर्णय रहेको उहाँले बताउनुभयो ।
त्यही निर्णयलाई आत्मसाथ गर्दै अन्य तहमा तालमेल गर्न जिल्ला संयन्त्रमा सघन छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । ‘पटक–पटक मेरो पक्षमा नै हुनुपर्छ भन्ने दृष्टिकोणबाट गठबन्धन मजबुत हुन सक्दैन । एउटा पक्षलाई निराश बनाएर अर्को पक्ष सँधै खुसी हुने प्रवृत्तिबाट गठबन्धन सघन भएर जान सक्दैन,’ उहाँले भन्नुभयो ।
