काठमाडौं, ६ वैशाख । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिाकरीमाथि गरिएको कारवाही सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबाट राेकिएसँगै राष्ट्र बैंक सञ्चालक समितिको नियमित बैठक बस्नका लागि बाटो खुला भएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिका अध्यक्षसमेत रहेका गभर्नर निलम्बनमा परेको र दुई जना सञ्चालकको कार्यकाल सकिनुका साथै एक जना सञ्चालक बैठकमा नआउने गरेका कारण सञ्चालक समितिको बैठक नै बस्न नसक्ने अवस्था भएको थियो ।
राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मी र श्रीराम पौडेलको पाँच वर्षको कार्यकाल शनिबारबाट सकिएकाे छ । अहिले राष्ट्र बैंकको बैठकमा नियमित उपस्थित हुन सक्ने सञ्चालकमा वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना, डेपुटी गभर्नर बमबहादुर मिश्र र अर्थसचिव मधुकुमार मरासिनी मात्रै रहेका थिए ।
गभर्नर अधिकारी निलम्बनमा पर्नुअघि नै अर्का सञ्चालक समिति सदस्य सुवाेध कर्ण बैठकमा उपस्थित हुन छोडेका थिए । सात सदस्यीय राष्ट्र बैंक सञ्चालक समिति बैठक बस्नका लागि कम्तिमा चार जना सञ्चालक उपस्थित हुनुपर्ने हुन्छ । गभर्नर अधिकारी फर्किएपछि अब ४ जनाको सञ्चालक समिति अहिले नै क्रियशिल बन्न सक्छ ।
अर्थतन्त्रका बाह्य तथा आन्तरिक सूचकमा चाप परेको सन्दर्भमा राष्ट्र बैंकको तर्फबाट लिनुपर्ने नीतिगत निर्णय तथा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाका लागि पनि सञ्चालक समितिको बैठक बस्नुपर्ने हुन्छ ।
