विराटनगर, ११ वैशाख । लामो समयको छलफल र सकसपछि नेपाली कांग्रेसले विराटनगर महानगरपालिाकाको मेयरको उम्मेदवार टुङ्गो लगाएको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगरको मेयरमा सत्ता गठबन्धनबाट नागेश कोइरालाले टिकट पाएका छन् । कोइराला नेपाली कांग्रेस मोरङको जिल्ला उपसभापति हुन् ।
उनको पक्षमा डा. शेखर कोइरालाले लबिङ गर्दै आएका थिए । विराटनगरको मेयरको टिकट दौडमा पार्टी सभापति शेरबहादुर देउवाले अमृत अर्याल र कृष्णप्रसाद सिटौलाले यसअघिका मेयर भीम पराजुलीलाई अघि सार्दै आएका थिए । देउवाका पक्षबाट कन्द्रीय सदस्य डा. डिला संग्रौलापनि टिकटको दौडमा रहेकी थिइन ।
तर, कोइरालाका पक्षमा बिमलेन्द्र निधि र सशांक कोइराला पनि सकारात्मक देखिएपछि उनले वाजी मारेका हुन् । कोइरालाले टिकट पाएसँगै मेयरमा दोहोरिने बताइरहेका अहिलेका मेयर भीम पराजुलीको हात भने खाली भएको छ । उनले कसैगरी पनि आफूले नै मेयरको टिकट पाउने दावी गर्दै आएका थिए ।
गठबन्धनमा भागबन्डा मिलाउदा विराटनगरको मेयर कांग्रेसको भागमा परेको थियो भने उपमेयर जनता समाजवादीको भागमा परेको थियो । यही भागबन्डाका कारण मेयरमा दावी गरिरहेका जसपाका उमेश यादवले मेयरमा उम्मेदवारी दिनकै लागि पार्टी परित्याग गरेका छन् । उनले आजै मेयरका लागि उम्मेदवारी समेत दिइसकेका छन् ।
यता एमालेले समेत विराटनगरको मेयरको टुङ्गो लगाएको छैन् । एमालेका तर्फबाट मेयरका लागि केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी सदस्यद्वय पर्शुराम भन्ने कृष्ण बस्नेत र महेश भट्टराई, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की र महानगर अध्यक्ष सागर थापाको नाम सिफारिस भएको छ।
