काठमाडौँ,भदौ २
बलात्कारीलाई कडा सजाय हुनुपर्ने माग राख्दै काठमाडौँको माईतीघर मण्डलामा महिलाहरु अर्धनग्न भएर प्रदर्शन गरेका छन् । शनिबार कालो पेटीकोट लगाएर अर्धनग्न प्रर्दशनमा उत्रिएका महिला अधिकारका अभियान्ताहरुलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको छ ।
पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ समेत गरेको छ । प्रर्दशनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेश्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ ।
संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर , बलात्कार विरुद्ध संयुक्त ¥यालीको व्यानरमा मण्डलामा भेला भएका युवा युवतीले संविधान संशोधनको माग गरेका छन् ।मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारवाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ताले यस प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
यसअघि सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरे सर्वोच्च अदालतले आदेश कार्यान्वयन नगर्न भनेको छ । तरपनि उक्त ठाउँमा शान्तिपूर्णरुपमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको आयोजकहरुको गुनासो छ ।
पक्राउ परेकी एक प्रदर्शनकारीले भनिन् ‘प्रहरीले गरेको यस्तो व्यवहार यसअघि कहिल्यै देखिएको थिएन, यो घटनाले त देशमा अधिनायकवाद आएको महसुस भयो ।’