Nepal Times
Nepal Times
45
Shares

एसीसी महिला टी–२० च्याम्पियनसिपः भुटानलाई ५० रनले हराउँदै नेपालको विजयी सुरुवात

एसीसी महिला टी–२० च्याम्पियनसिपः भुटानलाई ५० रनले हराउँदै नेपालको विजयी सुरुवात

३ असार, काठमाडौँ । एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा केहीबेर अघि सकिएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा अलआउट भयो । उसले ४४ रन मात्र बनाउन सक्यो । भुटानका लागि छिरिङ जान्ग्मोले १६, एनगावाङ छोडेनले ८, सोनाम छोडेनले ५ र पेमा सोल्डेनले ४ रन बनाइन् ।

नेपालकी सङ्गीता राईले ४ विकेट लिइन् भने कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सीता राना मगर र इन्दु बर्माले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन भने इन्दु बर्माले २० रन, कप्तान रुविना क्षेत्रीले २१ र डोली भट्टले ५ रन बनाए ।

यस्तै, सीता मगरले ४, ममता चौधरीले ३, विन्दु रावलले १ रन जोड्दा अश्मिना कर्माचार्य र ज्योति पाण्डे शून्य रनमा आउट भए । भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले १-१ विकेट लिए ।

च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग भोलि खेल्नेछ । यस्तै, सोमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्ने छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ’बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

यस्तै समूह ’ए’ मा मलेसिया, यूएई, ओमान, कतार र सिङ्गापुर छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.