३ साउन ,विराटनगर ।
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन् । मिश्रले आफूले लेखेको ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तकबारे प्रेस विज्ञप्ती जारी गरेका छन् । जसमा उनले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उल्लेख गरेका छन् । संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनको प्रस्ताव छ । मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष रहेका बेला २२ साउन २०७८ मा मार्ग परिर्वतन ः ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज सार्वजनिक गरेका थिए ।
संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न प्रस्ताव गरेका उनले एकताको प्रतीकका रुपमा राजाको स्वीकार्यता उच्च देखिएको बताएका थिए । राजतन्त्रको पक्षमा खुलेको भन्दै मिलन पाण्डे समूहले असन्तुष्टि जनाएपछि विवेकशील साझा पार्टी फुट्यो । स्थानीय तह चुनावमा पार्टीले नराम्रो पराजय व्यहोरेपछि मिश्रले ११ जेठ २०७९ मा अध्यक्षबाट राजीनामा दिएका थिए । अहिले मिश्र विचारभन्दा माथि देशको प्रस्तावमा थप खुलेर आएका छन् ।
‘विचारभन्दा माथि देश’ दस्तावेजमा आएको प्रतिक्रिया, भएका छलफल–बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताएका छन् । गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिन प्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण दूरगामी हितका लागि घातक भएको उनको निष्कर्ष छ । अब ढिलो नगरी नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उनले बताएका छन् ।
नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ र बीपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ । यस्तै मिश्र अब काठमाडौं क्षेत्र नम्बर १ मा चुनाव लड्ने तयारीमा पनि जुटेका छन् । उनी कुन पार्टीबाट वा स्वतन्त्र रूपमा उम्मेदवार हुने भन्नेबारे अहिले खुलाएका छैनन् । तर एजेण्डा समान खाले भएकाले उनी राप्रपासंग मिलेर जाने पनि सम्भावना छ ।
यसअघि पनि उनले राजीनामा दिनुअगाडि राप्रपासंग छलफल गरेका थिए । मिश्र २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उठेका थिए । उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतले पराजित भएका थिए । सिंहले १० हजार नौ सय ३६ मत ल्याएका थिए भने मिश्रले १० हजार एक सय १८ मत ल्याएका थिए ।