५ साउन, काठमाण्डौ ।
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।एसपीपीबारे सरकारको निर्णय, त्यसको कार्यान्वयनको अवस्थाका सम्बन्धमा जानकारी गराउन सभामुखले बिहीबार सरकारलाई निर्देशन दिएका हुन् ।सत्तापक्षकै सांसद झलनाथ खनाल, देव गुरुङलगायतले यो विषय उठाएका थिए । त्यसपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् ।यसअघि मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्ले निर्णय गरेको करिब एक महिनासम्म पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई यो विषयमा पत्राचार गरेको छैन ।बुधबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकालाई पत्राचार गरिनसकेको जानकारी दिँदै यो विषयमा अध्ययन भइरहेको बताएकी थिइन् ।त्यसको भोलिपल्ट बसेको संसद बैठकमा यो विषय उठेपछि सभामुखले रुलिङ गरेका हुन् ।