२३ साउन,काठमाण्डौ ।
मकवानपुरको हेटौँडामा पाँच वटा सवारी साधन एक आपसमा ठोक्किँदा दर्जन बढी विद्यार्थीहरु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडामा रिलायन्स इङ्लिस बोर्डिङ स्कुल बससहित पाँच सवारी एक आपसमा ठोक्किएका हुन् ।
बिहान साढे नौ बजेको समयमा हेटौँडा–१५ को रातोमाटे वन नर्सरी नजिक एक स्कुल बस, दुई ट्याङ्कर, एक तेलको ट्याङ्कर र एक कार ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो । त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २–०३–००१–ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार पाँच वटा सवारी ठोक्किँदा १५ जना सामान्य घाइते भएका छन् । सबैलाई हेटौँडा अस्पताल ल्याइएको छ । रिलायन बसका चालक ६७ वर्षीय श्यामबहादुर स्याङ्तानको भने टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य घाइते हुनेमा चालक र विद्यार्थीहरू रहेका छन् । अहिले राजमार्ग भने खुलिसकेको छ ।