Nepal Times
Nepal Times
3
Shares

नागरिकता विधेयक बारे प्रचण्डको नयाँ खुलासा , प्रचण्ड चितवन ३ बाटै चुनाव लड्ने

नागरिकता विधेयक बारे प्रचण्डको नयाँ खुलासा , प्रचण्ड चितवन ३ बाटै चुनाव लड्ने

२५ साउन,काठमाण्डौ ।
जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महत्वपूर्ण खुलासा गरेका छन । सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् भने संसद्बाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको नागरिकता विधेयक फिर्ता भए सरकारले फेरि पठाउने बताएका छन् ।

पत्रकार महासंघ जापानको टोकियो शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् । कास्की वा चितवनमध्येबाट कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा प्रचण्डले भनेका छन्, ‘म चितवनबाटै लड्छु । मैले एकदम प्रष्टसँग ४÷५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव चड्छु क्लियर हुनुहोला । बरु तपाइहरु जापानमा बस्ने साथीभाइहरुले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षा छ । किनकी मैले भनेको छु, म एउटा राष्ट्रिय लिडरको हैसियतले देशभरीको विकास र देशभरीको समृद्धि नै सोच्छु मैले । देशको केन्द्रविन्दुमा भएको र विकासको तीव्र गतिमा अगाडि जाने सम्भावना भएको हुनाले देशैभरीलाई एउटा सन्देश जाओस् भनेर पनि मैले चितवनलाई महत्व दिइराखेकै छु ।’

अध्यक्ष प्रचण्डले देशका विभिन्न ठाउँबाट आफूलाई निर्वाचन लड्नका लागि अनुरोध आएको बताए । उनले भने, ‘मलाई चुनाव लड्नुपर्यो भनेर रुकुमका साथीहरुले गोरखाका साथीहरुले, धनुषाका साथीहरुले, सिरहाका साथीहरुले, कालिकोटका साथीहरुले धेरैले भन्नुभएको छ । तर मैले सबै साथीहरुलाई धन्यवाद भन्दै म चाही यो पटक चितवनबाटै लड्छु भनेको छु ।’

यस्तै प्रचण्ड राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे सरकारले फेरी संसद्मा पेश गरेर पारित गराउने बताएका छन् । संसद्बाट पारित भएर स्वीकृतीका लागि राष्ट्रपति समक्ष पुगेको विधेयक फिर्ता गर्नुपर्ने भनी विभिन्न राजनीतिक दल तथा संघ र संस्थाहरुले राष्ट्रपति समक्ष अपिल गरिरहेको बेला प्रचण्डले राष्ट्रपतिले विधेयक एक पटक मात्रै फिर्ता गर्न पाउने भएकाले फिर्ता गरे सरकारले फेरी पेश गर्ने उल्लेख गरेका हुन ।

‘राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु हुन्छ जस्तो मलाई लाग्दैन’ प्रचण्डले भने ’फिर्ता गरे सरकारले फेरी लैजान्छ, त्यसमा समस्या छैन ।’ नागरिकता विधेयकमा कुनै नयाँ व्यवस्था नगरिएको उल्लेख गर्दै प्रचण्डले विगतकै व्यवस्था अनुसार अहिलेको विधेयक आएको हो । नागरिकता विधेयकलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि असहमति जनाउदै आएको छ । विधेयक राष्ट्रपति समक्ष पेश भएको दुई हप्ता पुग्दा समेत अझै जारी नहुनेले राष्ट्रपतिले विधेयक फिर्ता गर्न सक्ने विश्लेषण गर्न थालिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.