२७ साउन, काठमाण्डौ ।
अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढि चलचित्रमा काम गरेका शाहीलाई आज बिहान गृहमन्त्री बालकृष्ण खाणले कांग्रेस प्रवेश गराएका हुन् । पुल्चोकस्थित मन्त्री क्वाटरमा गृहमन्त्री एवं कांग्रेस नेता खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यतासमेत प्रदान गरेको सोलुखुम्बु तरुण दलका अध्यक्ष अशोक झाले बताए ।
पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत, अध्यक्ष विद्वान गुरुङ, ललितपुर कांग्रेसका सभापति दीपन्द्र श्रेष्ठलगायत उपस्थित थिए । शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताएका छन् ।
उनले भने, ’म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइन् । पहिलो पटक काँग्रेससँग आवद्ध भएको हुँ,’ ’काँग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा काँग्रेस नै ठीक लाग्यो ।’ साथै उनले काँग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएकोसमेत बताए ।
‘धेरै अग्रज र सम्मानित कलाकारहरु काँग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई काँग्रेस मन परेको हो,’ उनले भने । उनले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको बताए । अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको विहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढि चलचित्रमा अभिनय गरेका छन् ।