२ भदौ, काठमाण्डौ ।
तराई क्षेत्रमा उच्च गर्मीको सामना गरिरहदा आज देशका क्षेत्रमा भने पानी पर्ने संभावना रहेको छ । यस्तै वर्षापछि केही ठूला नदीहरूमा पानीको बहाव सामान्य बढ्ने पूर्वानुमान गरिएको छ । त्रिवेणीस्थित तमोर, सिम्लेस्थित अरूण, रबुवाबजारस्थित दूधकोसी, बुस्तीस्थित तामाकोसी, विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, चिसापानी र असाराघाटस्थित कर्णाली नदीमा बहाव सामान्य बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, समजीघाटस्थित भेरी, दिपायलस्थित पश्चिम सेती, मैनाचुलीस्थित कन्काई र बेलस्रोतस्थित कमला नदीमा पनि बहाव सामान्य बढ्ने पूर्वानुमान छ । आज पाँचथर, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र कालीकोट भई बहने साना नदीहरूमा समेत बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने जनाइएको छ । उक्त नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले आगामी २४ घन्टा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन–यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।