६ भदौ , काठमाण्डौ ।
सरकारले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेसँगै विभिन्न राजनीतिक दलका नेताहरू चुनावी तयारीमा जुटेका छन् । सत्तारूढ गठबन्धनका रूपमा रहेका पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेकाले कुन क्षेत्रमा कुन पार्टीका नेताले टिकट पाउँछन् भन्ने टुंगिन बाँकी छ ।
यसैबीच नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले गुल्मी क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा निर्वाचन लड्ने घोषणा गरेकी छिन् । उनले सामाजिक संजालमा एउटा तस्बिर राख्दै आफू गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी दिएकी हुन् ।
झाक्रीले एमालेको विरासतलाई तोडेर देखाउने समेत दाबी गरेकी छिन् । गुल्मीको क्षेत्र नम्बर दुईमा एमालेका गोकर्ण विष्ट सासंद छन् । आइतबार जिल्ला सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा झाँक्रीले गठबन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेको २५ वर्षदेखिको विरासत तोड्ने बताइन् ।
‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिंदै आएको छ, यसर्थ एकढिक्का भएर निर्वाचनमा जुट्नुहोस’, उनले भनिन् । झुटा आश्वासनले गुल्मीका जनता आजित भएकाले विकल्प खोजेको भन्दै उनले त्यसको छिनोफानो मंसिर ४ को निर्वाचनले गर्ने बताइन् । एमालेतर्फ संकेत गर्दै उनले ‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा’ भएपछि छटपटी बढेको सुनाइन् ।
यसअघि झाक्री नेकपा एमालेबाट समानुपातिक सासंद बनेकी थिइन् । यता पछिल्लो चार वटा चुनाव लडेका गोकर्ण विष्ट पहिलो संविधान सभा निर्वाचन २०६४ मा बाहेक निर्वाचित भएका थिए । उनी यो पटक पनि उम्मेदवार बन्ने निश्चित जस्तै छ । तर विष्टसँग प्रतिस्पर्धा गर्नुअघि रामकुमारीले टिकटका लागि सत्ता गठबन्धनमा सहमति जुटाउनुपर्छ । यो क्षेत्रमा नेपाली कांग्रेसका डा. दामोदर भुसाल पनि आकांक्षी छन् ।
सत्ता गठबन्धनले साझा उम्मेदवार उठाए कडा प्रतिस्पर्धा हुने देखिन्छ । गत स्थानीय निर्वाचन २०७९ को वडाध्यक्षको मतका आधारमा गुल्मीमा एमाले सबभन्दा बलियो दल हो । झाक्री गुल्मीकी हुन् । यसअघि भने उनले काठमाडौं–२ बाट उठ्ने चर्चा चलेको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो क्षेत्रबाट २०७० र २०७४ मा चुनाव जितेका छन् ।