७ भदौ ,काठमाण्डौ ।
देशका केही ठूला नदीमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज रबुवाबजारस्थित दूधकोसी र बुस्तीस्थित तामाकोसी नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।
आज राति संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र आसपास भई बहने साना नदीहरूमा पनि बहाव बढ्न सक्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । यस्तै, लमजुङ, कास्की, म्याग्दी, दैलेख, कालीकोट, अछाम, बाजुरा र आसपास भई बहने साना नदीहरूमा बहाव सामान्य बढ्न सक्ने पूर्वानुमान छ । उक्त नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेकाले हाल देशभर आंशिक देखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू–भागहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै आजराती मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ । भोलि दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाहुने पूर्वानुमान गरिएको छ ।
भोलि राती भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि सामान्यता सफा रहनेछ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू–भागहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन÷ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएकाृ छ । तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ।