७ भदौ ,काठमाण्डौ ।
बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलले आह्वान गरेको बन्दको मौकाछोपी चालक र सहचालक आफैंले चलाउँदै आएको टिपरमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगो लगाइएको प्रहरीले जनाएको छ । विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अर्जुन चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताएका छन् । गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिएका छन् । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताएका छन् ।
दुई दिन देखि उक्त स्थानमा टिपर बिग्रिएर रोकि राखेको थियो । मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी भएको र बन्द कर्ताहरुले आफुहरुको बन्द कार्यक्रम बिहान पाँच बजे पछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफुहरुको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण भनिने आकाश चोधरी रहेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो ।