७ भदौ ,काठमाण्डौ ।
रवि लामिछाने नेतृत्वको नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरु नियुक्त गरेको छ। देशका विभिन्न स्थानमा जिलला तथा प्रदेश भेलाहरु सम्पन्न गरी स्वतन्त्र पार्टीले पदाधिकारी टुङगो लगाएको थियो । सो पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले डोलप्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ।
रविले महामन्त्री बनाएका ढकाल पेशाले चिकित्सक हुन् । रविकै पहलमा कालिकोटमा रास्कोट अस्पताल बनेको छ । डा ढकाल यही अस्पतालका निर्देशक हुन् । अस्पताल निर्माणका क्रमदेखि रविसँग जोडिएका विराटनगर–३ का ढकाल यसअघि पार्टीमा प्रवक्ता थिए । ढकाल यस अघि विवेकशील पार्टीमा थिए । रविले पार्टी खोल्ने भएपछि गत असार १ मा उनले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए ।
बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । यस्तै हाल संसदमा रहेका राजनीतिक दलहरुबाहेकका दलहरु तथा गैरदलीय रुपमा उम्मेदवारी घोषणा गरेका सक्षम स्वतन्त्र नेपाली नागरिकहरुसँग सहकार्य गर्ने प्रयोजनका लागि केन्द्रीय सदस्य गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
रविले स्वतन्त्र पार्टी गठन गरेपनि बाहिर उम्मेदवारी दिने तयारीमा रहेकाहरुलाई नसमेटेको भन्दै देशका विभिन्न स्थानमा स्वतन्त्र अभियानका नाममा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । स्वतन्त्र उम्मेदवारकै कारण आफूहरुका पक्षमा आउने जनमत पनि बाँडिने भएकाले स्वतन्त्र उम्मेदवारहरुलाई समेट्ने रणनीतिमा स्वतन्त्र पार्टी पुगेको विश्लेषण गरिएको छ ।
उता,आम नेपाली जनताले दैनिक जीवनमा सामना गर्नु परिरहेका समस्याहरु समाधानमा सहयोग गर्ने, सामाजिक कार्यमा सहकार्य गर्ने र बेथिति विरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य अधिवक्ता सोविता गौतमको संयोजकत्वमा र्यापिड एक्सन टिम गठन गरेको बैठकपछि सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले केन्द्रीय सदस्य गीता रेग्मीले दिएको राजीनामालाई स्वीकृत गरी रिक्त सदस्य पदमा चितवनकी सविना वि.क.लाई नियुक्त गरेको छ । रविले पार्टी गठन पछि आफ्नो टिममा तत्काल २१ जना रहने घोषणा गरेका थिए ।