९ भदौ , एजेन्सी ।
नेपालबाट विभिन्न समयमा हराएका, चोरी भएका, तस्करी गरिएका प्राचीन कला संस्कृतिसँग जोडिएका पुरातात्विक वस्तुहरु पछिल्लो समय विश्वका विभिन्न देशहरुमा फेला परिरहेका छन् । यसरी फेला परेका पुरातात्विक त्यस्ता वस्तुहरु नेपालमा फर्काईन थालिएको छ। पछिल्लो समय सन् १९६० मा नेपालबाट चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्तिलाई नेपाल फर्काइने भएको छ ।
अमेरिकाको न्युयोर्कमा रहेको नेपालको महावाणिज्य दूतावास र म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् । म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा भएको एक समारोहमा म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट कार्यवाहक महावाणिज्य दूत विष्णु गौतमले चोरी भएर अमेरिका पुगेको पुरातात्विक दुर्गाको मूर्ति ग्रहण गरेका छन् ।
यो मूर्ति लगभग १४औँ शताब्दीदेखि १८औँ शताब्दीको बीचमा काठमाण्डौमा बनेको अनुमान छ । मूर्ति सन् १९६० मा हराएको थियो । यो मूर्तिलाई गएको मार्चमा लिलामीमा राखिएको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । यो जानकारीपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो ।
सन् २०२१ मा न्युयोर्कबाट चोरी भएका तीन वटा नेपाली पुरातात्विक वस्तु यसअघि नै नेपाल फर्काइएको थियो । यस्तै बेलायतबाट समेत नेपालबाट चोरी भएर त्याहा पुगेका मुर्तिहरु फर्काइएको छ । केही दिन अघि मात्रै नेपालबाट चोरी भएको ४ सय वर्ष पूरानो मुर्ति सिंगापुरमा एक संग्राहलयले प्रर्दशनमा राखेपछि पुनप्राप्तिका लागि नेपालले पहल गरिरहेको छ ।