२६ भदौ ,एजेन्सी ।
केही सातादेखिको मनसुनी वर्षाले पाकिस्तान डुबानमा परेको छ । देशको एक तिहाइ भाग बाढीको चपेटामा परेको छ र ३ करोड ५० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । फेरि यो विपद्को बीचमा अर्को खतरा जनतातर्फ सर्दैछ ।
सेप्टेम्बरको सुरुमा परेको अविरल वर्षाका कारण देशकै सबैभन्दा ठूलो ताजा पानीको तालले पनि किनारा भत्काएर बाढीको रुप लिन थालेको छ । यो तालमा बाढी आयो भने हजारौं मानिसले घरबार गुमाउनु पर्ने हुनसक्छ । नासाले सार्वजनिक गरेको नयाँ स्याटेलाइट तश्विरहरूमा तालको नराम्रो रूप देखिएको पाकिस्तानी संरचार माध्यामहरुले उल्लेख गरेका छन् ।
पाकिस्तानमा बाढीका कारण हालसम्म १३०० भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं घरबारविहीन भएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ल्यान्डस्याट ८ र ल्यान्डस्याट ९ उपग्रहले यी तस्विर खिचेका हुन् । तस्बिरमा मञ्चर तालको किनार भत्केर बगिरहेको देख्न सकिन्छ ।
यी मध्ये केही किनारहरू स्थानीय अधिकारीहरूले सिन्धु नदी उपत्यकाको सघन जनसंख्या भएका क्षेत्रमा तालको बहाव फैलिन नदिन निर्माण गरेका थिए । जुलाई २५ को तस्बिरले बाढीअघिको अवस्था देखाउँछ भने अहिलेका तस्बिरले बढ्दो बाढी क्षेत्र देखाएको छ । नासाले आफ्नो आधिकारिक विज्ञप्तिमा उपत्यकाभर फैलिएका सयौं गाउँमा बसोबास गर्ने झण्डै एक लाख मानिस ताल भत्किएका कारण बाढीको जोखिममा रहेको बताएको छ ।
हालको बाढीलाई पाकिस्तानमा १० वर्षयताकै सबैभन्दा ठूलो संकट मानिन्छ। मृत्यु हुने र हजारौं घाइते हुनेको संख्या निरन्तर बढिरहेको छ । १० लाखभन्दा बढी घर ध्वस्त भएका छन् । पाकिस्तानमा अचानक आएको बाढीका कारण १५ अर्ब डलरदेखि २० अर्ब डलरसम्मको आर्थिक नोक्सानी हुन सक्ने आंकलन गरिएको छ ।
यसैबीच पाकिस्तानको मौसम विज्ञान विभागले आगामी चार देखि पाँच दिनसम्म पाकिस्तानका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले जारी गरेको एक रिपोर्टअनुसार देशको माथिल्लो भागमा पानीसहितको बादल प्रवेश गरिरहेको छ र अब बुधबारसम्म थप बर्षा जारी रहने सम्भावना छ ।
बर्षाले देशको दक्षिणी सिन्ध, दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तका साथै अन्य क्षेत्रमा वर्षा गराउन सक्छ । वर्षाका कारण पाकिस्तान प्रशासित काश्मिर, खैबर पख्तुनख्वाको पहाडी क्षेत्र, उत्तरी गिलगित–बाल्टिस्तान क्षेत्र र पूर्वी पञ्जाब प्रान्तको गलयत र मुरी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने बताइएको छ ।