६ असोज, काठमाण्डौ ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ । आगलागीमा परी संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौँ–२५ बस्दै आएका छेवाङ शेर्पाको मृत्यु भएको हो । कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् ।
उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार आगलागी भएको घरका धनी टंक घिसिङ हुन् । उक्त ट्रेकिङ्ग अफिस चर्चित कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को हो । अक्सिजन सिलिन्डरहरु बिस्फोटभएपछि आगो फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
आगलागीबाट एक घर पूर्णरुपमा क्षति हुनुका साथै नजिकका घरहरुमा समेत आंशिक क्षति पुगेको छ । बुधबार बेलुका ७ बजेदेखि लागेको आगो अग्नि नियन्त्रक, उद्दारकर्मीहरु र स्थानीय ब्यक्तिहरुसमेतको प्रयासबाट केही घाइतेको उद्धार गरी १० बजे आगलागी नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
आगलागी नियन्त्रणका लागि बौद्ध रामहिटीबाट १, काठमाण्डौ महानगरपालिकाबाट (जुद्द बारुण यन्त्र) २, ललितपुर महानगरपालीकाबाट१, भक्तपुर नगरपालिकाबाट१, नेपाली सेनाबाट १, नेपाल प्रहरीबाट १, सशस्त्र प्रहरी बल नेपालबाट१ र त्रिभुवन बिमानस्थलबाट१ सहित ९ वटा दमकल र १० वटा पानी ट्याङकरहरू परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, नगर प्रहरी, बृत्त गौशाला र बौद्धबाट प्रहरी नायव उपरीक्षक, प्रभाग कपन, बुढानीलकण्ठ, बिपत ब्यवस्थापन महाशाखाबाट प्रहरी निरीक्षकसहित २७ जना र ट्राफिक प्रहरी समेत गरी २०० जना प्रहरी टोली परिचालन गरिएको थियो।
त्यस्तै गरी नेपाली सेना भवानीदल गण, बिपद गण र युद्ध भैरव गणबाट ७० जना, सशस्त्र प्रहरी बल नेपालबाट ३० जना सुरक्षाकर्मीहरु परिचालित भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।