२९ असोज, काठमाण्डौ ।
नेकपा एमाले डडेलधुराले नेपाली कांग्रेस वीपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस वीपीले प्रदेश सभा ’ख’ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाउँदै तालमेल भङ्ग भएको घोषणा गरेको हो ।
डडेलधुरामा एमालेले प्रतिनिधि सभामा कांग्रेस वीपीका कर्ण मल्ललाई सघाउने तथा प्रदेश सभाको ’क’ र ’ख’ दुवैमा कांग्रेस वीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएको थियो । डडेलधुराको प्रतिनिधि सभामा एमालेको उम्मेदवार कोही छैनन् ।
प्रदेश सभामा भने ’क’ मा पठान सिंह बोहरा र ’ख’ मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् । एमाले, डडेलधुराको शुक्रबार बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘‘कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल भंग गरी एकल रुपमा निर्वाचनमा होमिने निर्णय आजको बैठकले गरेको छ ।’ डडेलधुरा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो ।
अब यो निर्णय कार्यान्वयन भए डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । बीपी कांग्रेससँग तालमेल गरेर निर्वाचनमा होमिँदा दुइटै प्रदेशसभा जित्ने र प्रतिनिधिसभा पनि शेरबहादुर देउवालाई टक्कर दिन सकिने एमालेभित्रैका केहीको विश्लेषण छ ।
केहीले भने अघिल्लो पटक तालमेल गर्दा पनि केही उपलब्धि नआएको भन्दै तालमेलको विरोध गरेका थिए । स्थानीय तह निर्वाचनमा पनि यहाँ एमाले र बीपी कांग्रेसले तालमेल गरेका थिए । तर, दुबै दलले कुनै पनि पालिका जित्न सकेनन् ।
लगातार ६ पटक डडेल्धुराबाट निर्वाचन जितेका देउवालाई हराउन एमालेले उनकै पुराना कार्यकर्ता कर्ण मल्ललाई अघि सार्ने रणनीति लिएको थियो । अघिल्लो पटकको निर्वाचनमा प्रदेशसभा (ख) तर्फ कांग्रेसबाट उम्मेदवार बनेका मल्ल ३५८ मतान्तरले विजयी भएका थिए ।
१३ हजार ४१३ मत प्राप्त गरेर मल्ल विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाले जिल्ला अध्यक्ष डा. तारा जोशीले १३ हजार ५५ मत प्राप्त गरेका थिए । अहिले जोशी नेकपा एकीकृत समाजवादीमा छन् । उनले पनि प्रदेशसभामा भाग नपरेको भन्दै गठबन्धनविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।