२१ कात्तिक ,काठमाण्डौ ।
आगामी मंसिर ४ को चुनावका लागि जुम्लामा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यहाँ त्रिपक्षीय भिडन्त हुने अनुमान छ । सत्तारुढ दलको गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
सत्ता गठबन्धनबाट माओवादीका गोमा गौतम कुँवर, एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा छन् ।
विसं २०७० को चुनावमा माओवादी केन्द्रबाट सामानुपातिक सांसद हुँदै पशुपन्छी विकास राज्यमन्त्रीसमेत भएकी गौतमलाई यसपालि सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । गठबन्धनसँग एकल प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएको एमालेका योगीलाई यो पटक निकै चुनौती छ ।
किनभने विसं २०७४ मा एकमात्र स्थानीय तह जितेको एमालेले गत वैशाख ३० मा भएको स्थानीय चुनावमा कुनै पनि पालिका जितेको छैन । अर्कोतर्फ जिल्लामा पार्टीको जनाधार कमजोर रहे पनि ‘व्यक्तिगत जनमत रहेको’ भन्दै राप्रपा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही माओवादीका गोमा गौतम कुँवर र एमालेका रतननाथ योगीलाई चुनौती दिन पुगेका छन् ।
शाहीले सत्ता गठबन्धन र एमालेका बलिया उम्मेदवारलाई रोक्न सक्ने अनुमान कतिपयले गरेका छन् । शाहीले चुनावको मिति घोषणा भएयता नै जुम्ला छाडेका छैनन् । शाहीले उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी लेखाजोखा राष्ट्रियस्तरमै सुरु भएको छ । प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्र रहेको जिल्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन् ।
विसं २०६४ मा नेकपा माओवादी केन्द्र, २०७० मा नेपाली कांग्रेस र २०७४ माओवादी र एमालेबीच गठबन्धन हुँदा माओवादीले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको थियो । विसं २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए ।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले पाँच पालिको प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको छ । एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित छ वडाध्यक्ष जितेको छ ।
एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्न सकेन । जिल्लाका ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको छ । राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन । एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
सोमबार मात्रै नेकपा एसको सिंगो जिल्ला कमिटि एमालेमा समाहित भएपछि एमाले उम्मेदवार योगीले जितको महत्वकाक्षा बढाएका छन् । तर स्थानीय तहको नतिजालाई हेर्ने हो भने चाँही एमाले र राप्रपाले गठबन्धनका उम्मेदवारलाई कडा टक्कर दिनका लागि मात्रै पनि नतिजा उल्टाउनु पर्ने देखिन्छ ।