२८ कात्तिक,एजेन्सी ।
टर्कीएको एउटा व्यस्त सहरमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । इस्तानबुल सहरको व्यस्त सडकमा भएको विस्फोटमा परेर ८० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
टाक्सिम क्षेत्रको इस्टिकलाल एभेन्युमा विस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो । सरकारी समाचार निकाय एनादोलुले विस्फोटको कारण थाहा हुन नसकेको जनाएको छ ।
इस्तानबुल सहरको सरकारी वकिलको कार्यालयले विस्फोटको अनुसन्धान सुरु गरेको छ । छानबिन टोलीमा पाँच जना सरकारी वकिल नियुक्त गरिएको कार्यालयका सञ्चार निर्देशकले जानकारी दिएको बीबीसीले जनाएको छ ।
इस्तानबुल क्रिमिनल कोर्ट अफ पिसले विस्फोटसँग सम्बन्धित सबै श्रव्यदृश्य सामग्रीको प्रसारणमा प्रतिबन्ध लगाएको छ । लस्करै पसल र रेस्टुरेन्टहरु रहेको इस्टिलाल एभेन्यु पर्यटकलगायत स्थानीय माझ लोकप्रिय रहेको छ ।
यता टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उक्त विस्फोटलाई कडा आक्रमणको रुपमा लिएको भन्दै दोषीलाई कारबाही गरिने बताएका छन् ।
बीबीसीको रिपोर्ट अनुसार विस्फोटपछि इस्तिकलाल स्ट्रिट वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। क्षेत्र नाकाबन्दी गरिएको थियो। एम्बुलेन्सले घाइतेलाई यहाँबाट निकालेको देखिएको थियो ।
सो क्षेत्रको सुरक्षाका लागि हेलिकप्टरबाट समेत गस्ती बढाइएको जनाइएको छ । यो विस्फोटपछि जताततै हलचल मच्चिएको छ । विस्फोटको आवाज सुनेपछि मानिसहरु भाग्न थालेका थिए । विष्फोट भएको क्षेत्र पसलले भरिएको छ ।
सन् २०१६ मा आत्मघाती हमलामा पनि यसलाई निशाना बनाइएको थियो । मिडिया रिपोर्टका अनुसार यस हमलामा तीन जना संदिग्ध छन्। यसमा मुख्य अभियुक्त महिला हुन् । राष्ट्रपति एर्दोगानले पनि यसको पुष्टि गरेका छन् ।
अधिकारीहरूले यो कुर्दिस्तान वर्कर्स पार्टीसँग जोडिएको विश्वास गरेका छन् । जानकारीका अनुसार उनीहरुले विस्फोटक पदार्थले भरिएको झोला बाटोमा छोडेका थिए । त्यसको केही मिनेटपछि मात्रै विस्फोट भएको थियो ।