४ मंसिर , विराटनगर ।
कतै बम विस्फोट, झडप त कतै कर्मचारीहरुकै लापरबाहीका कारण जारी मतदान ठाउँ ठाउँमा स्थगित र अवरुद्ध भएको छ । कतिपय ठाउँमा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत प्रहार गरेको छ । तेह्थुममा मतदानको लाइनमा बसेका ८८ वर्षीय एक बृद्धको मृत्यु भएको छ ।
लालीगुराँस नगरपालिका–८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक वृद्धको मतदान केन्द्रमै मृत्यु भएको हो । रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिएका छन् । के कारणले उनको मृत्यु भएको भन्ने कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आज विहान ७ बजेदेखि सुरु भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस पटक ७० प्रतिशतभन्दा धेरै मत खस्ने बताइरहँदा यता मतदानस्थलमा भने विगतको जस्तो उत्साह देखिएको छैन । मतदाताहरुको लाइन पातलो देखिएका छन् ।
काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सालगायतका जिल्लामा मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन छ । एकातिर निर्वाचन विथोल्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको चुनौती, अर्कातिर दल तथा उम्मेदवारहरुप्रति बढ्दो असन्तुष्टिका कारण पनि यस पटक आम मतदाताहरुको उत्साह कम देखिएको पर्यवेक्षकहरुले बताएका छन् ।