४ मंसिर,काठमाण्डौ ।
नेपाली चलचित्रमा महानायकको उपाधि पाएका राजेश हमालले राजनीतिमा आउने घोषणा गरेका छन् । काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि संचारकर्मीहरूसँग बोल्दै हमालले पाँच वर्षपछि आफू पनि राजीतिमा आउने सम्भावना रहेको बताए ।
यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्ने र त्यसपछि राजनीतिमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै हुने हमालको दाबी छ । त्यसो भए तपाईं पनि राजनीतिमा आउने हो भन्ने प्रश्नमा उनले भने’, ’मेरो पनि त्यही नै हो ।
म आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको छु । मलाई लाग्छ कि अर्को पाँच वर्षपछि म नेपाली राजनीतिमा सायद आउँछु होला ।’ राजेश हमाललाई देशकै तीन ठूला पार्टीले आफ्नो पार्टीमा भित्र्याउने प्रयास गर्दै आएका छन् । एमाले सरकारमा रहेका बेला प्रधानमन्त्री केपी ओलीले उनलाई भारत भ्रमणमा लगेका थिए ।
स्थानीय निकायको चुनावअघि राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेपछि उनले राजनीतिका लागि माओवादी चुन्न लागेको खबर सार्वजनिक भएका थिए । तर हमालले अध्यक्ष प्रचण्डसँगको भेट राजनीतिका लागि नभई शिष्टाचारका लागि भएको बताएका थिए । हमालले राजनीतिमा आउने संकेत गरेपनि कुन दलमा आबद्ध हुने भन्नेबारे अहिलेसम्म खुलाएका छैनन् ।