१३ मंसिर, काठमाण्डौ ।
काठमाडौं उपत्यकाका सुकुम्बासीले राज्यको संयन्त्रलाई चुनौती दिदै ज्यान मार्नेसम्मका खुल्ला धम्की र घरेलु हातहतियार प्रर्दशन गर्दै सरकारी निकाय र जनप्रतिनिधि लक्षित प्रर्दशन गरेपछि देशको संघीय राजधानी काठमाडौं तनाव ग्रस्त बनेको छ । काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजिएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले मंगलबार काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । तर, बस्ती हटाउन महानगर पछाडि नहट्ने भएको छ । आफूहरू ‘एक्सन’मा उत्रिइसकेकाले हटाउनुपर्ने बस्ती हटाएरै छाड्ने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् । “सुकुम्बासीहरूले आफ्नो हिसाबले के गर्छन्, त्यो हाम्रो विषय होइन । तर, हटाउनैपर्ने बस्ती हटाएरै छाड्छौँ भन्दै छलफल भइरहेको उनले बताएका छन् ।
यसअघि सोमबार थापाथलीस्थित प्रसूतिगृह पछाडिको सुकुम्बासी बस्तीमा झडप हुँदा नगर प्रहरी प्रमुखसहित महानगरका ३६ नगर प्रहरी घाइते भएका थिए । घाइतेहरूको उपचार जारी छ । उनीहरू घरेलु हातहतियारसहित महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध उत्रँदा दिनभर बस्ती तनावग्रस्त बनेको थियो ।
गैरसुकुम्बासीले पनि अवैध रूपमा घरटहरा बनाएर बस्दै आएको महानगरको जिकिर छ । अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिले महानगरलाई सो बस्ती हटाउन आग्रह गरेपछि डोजरसहित नगर प्रहरीको टोली उक्त बस्तीमा पुगेको थियो । यता प्रर्दशनकै क्रममा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासी बस्तीका एक स्थानीयले ज्यान मार्ने धम्की दिएका छन् ।
सोमबार सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन पुगेको महानगर प्रहरीसहितको टोलीमाथि स्थानीयले आक्रमण गरेका थिए । झडपकै क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा स्थानीय एकजनाले मेयर शाहको ज्यान अब खतरामा रहेको अभिव्यक्ति दिएका हुन् । “‘बालेन साहको ज्यान अब खतरामा हुन्छ । मर्न पनि हामी ज्यान नै दिन्छौँ, सके त्यसलाई पनि मार्छौं हामीले,“ ती व्यक्तिले भनेका छन् ।
सो भिडियोलाई बालेन आफैँले सामाजिक सञ्जालमा सेयर गरेका थिए । उनले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न पनि उठाएका थिए । “देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन ? देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?,“ बालेनले लेखेका थिए । तर पछिल्लो समय उनले त्यो पोस्ट भने सामाजिक संजालबाट हटाएका छन् ।
सुरक्षाका लागि केन्द्रीय सरकारमाथि गम्भिर प्रश्न उठाएका मेयर बालेनले यही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत छलफल गरेका छन् । बालेनले बागमती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउने विषयको प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन् ।
उनले सोमबार साँझ बालुवाटारमै पुगेर प्रधानमन्त्री देउवासँग सुकुम्बासीको समस्या समाधानका विषयमा छलफल गरेका हुन् । यसअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुकुम्बासी बस्ती हटाउन २४ कात्तिकमा सूचना निकालेको थियो ।